काठमाडौँ ,पुस १०। सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारविरुद्ध कडा धारणा लिँदै नेकपा माओवादीले केन्द्रीय समिति विशेष बैठक आयोजना गरेको छ । बिहीबार बुद्धनगरमा बसेको बैठकले कार्की सरकार ढाल्न १० दिने अल्टिमेटम दिएको छ भने आगामी राजनीतिक र चुनावी रणनीतिबारे गहन छलफल सुरु गरेको छ ।
यसअघि बुधबार माओवादीले राष्ट्रपति रामचन्द्र पौडेललाई १३ बुँदे ज्ञापन पत्र बुझाउँदै वर्तमान सरकार तत्काल भङ्ग गरी सर्वपक्षीय सरकार गठन गर्न माग गरेको थियो । सरकार आफ्नो मागप्रति गम्भीर नभए सडक संघर्षका कार्यक्रम घोषणा गर्ने चेतावनी पनि पार्टीले दिएको छ ।
महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ को सचिवालयका अनुसार बैठकमा पछिल्लो राजनीतिक अवस्था, राष्ट्रियता, जनआन्दोलनपछि विकसित परिस्थितिलगायत विषयमा समीक्षा भइरहेको छ । सचिवालय सदस्य नारायण चन्दका अनुसार जेनजी विद्रोहपछि देखिएको विशेष राजनीतिक अवस्थालाई ध्यानमा राख्दै केन्द्रीय समिति बैठक बोलाइएको हो । “एजेन्डाबारे अहिले नै सबै कुरा सार्वजनिक गर्न मिल्दैन,” उनले बताए ।
बैठकमा कार्की सरकार विघटन नभए कस्तो प्रकारको सडक संघर्ष गर्ने भन्ने विषयमा समेत छलफल भइरहेको छ । पार्टीले आन्दोलनलाई सशक्त बनाउने र जनस्तरमा दबाब सिर्जना गर्ने रणनीति तय गर्न लागेको बताइएको छ ।
यसका साथै माओवादीले आगामी निर्वाचनमा सहभागी हुने निर्णय गरिसकेकाले उम्मेदवार छनोट, चुनावी रणनीति, गठबन्धनको सम्भावना र संगठन सुदृढीकरणका विषयमा पनि बैठक केन्द्रित रहेको स्रोतले जनाएको छ । जेनजी विद्रोहपछि असोज २५ देखि ३० गतेसम्म कपिलवस्तुस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले चुनावमा जाने निर्णय गरेको थियो ।
विशेष बैठकले सरकारविरोधी आन्दोलनको दिशा र निर्वाचनको तयारीलाई स्पष्ट रूप दिने अपेक्षा गरिएको छ । माओवादीको आगामी कदमले राष्ट्रिय राजनीतिमा नयाँ तरंग ल्याउने संकेत देखिएको छ ।




