विराटनगर , पुस १० । मोटरसाइकल दुर्घटनामा परेर कोशी प्रदेशका चर्चित क्रिकेटर मिनष थापाको निधन भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका–४ स्थित भित्री सडक खण्डमा भएको दुर्घटनामा २७ वर्षीय थापाको ज्यान गएको हो ।
प्रहरीका अनुसार विराटनगर एयरपोर्ट लाइनबाट गणेश चोकतर्फ जाँदै गर्दा थापाले चलाएको प्रदेश १–०२–०४२ प ८००२ नम्बरको मोटरसाइकल राति करिब पौने १ बजेतिर अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका थापालाई तत्काल उपचारका लागि कोशी अस्पताल पुर्याइएको थियो । तर, अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
मिनष थापा कोशी प्रदेशका प्रतिभाशाली र आशालाग्दा क्रिकेटरका रूपमा परिचित थिए । उनले विराटनगर किङ्सबाट पोखरा प्रिमियर लिग(एएी) खेलिसकेका थिए भने कोशी प्रदेशबाट विभिन्न फ्रेन्चाइज तथा प्रतियोगितामा सहभागिता जनाएका थिए । उनको निधनले प्रदेशस्तरीय क्रिकेट क्षेत्रमा ठूलो क्षति पुगेको खेलप्रेमीहरूले बताएका छन् ।
थापाको असामयिक निधनप्रति क्रिकेट संघ, खेलाडी तथा शुभेच्छुकहरूले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




