श्याम कुमार ठाकुर
सिरहा, पुस १० । अत्यधिक शितलहर, चिसो हावा, बाक्लो कुहिरो र न्यून तापक्रमका कारण सिरहा जिल्लामा जनजीवन कष्टकर बन्दै गएको छ । बढ्दो चिसोपनले विशेषगरी विपन्न तथा दलित समुदायका स्थानीय बासिन्दा बढी प्रभावित भएका छन् ।
यही कठिन परिस्थितिलाई मध्यनजर गर्दै नेपाली सेनाको श्री नन्दाबक्स गण, चोहर्वा व्यारेक सिरहाले शितलहरबाट प्रभावित स्थानीयलाई राहतस्वरूप सुकेको दाउरा वितरण गरेको छ ।
आज सिरहा जिल्लाको मिर्चैया नगरपालिकाका विभिन्न स्थानहरू—मिर्चैया कटारी चोक, संस्था चोक, मिर्चैया गुडरी बजार, थाना चोक, बरबिघा गढी रोड, मल्हनिया चोक, मिर्चैया नगरपालिका–१ र २ तथा बकरि बजार क्षेत्रमा बसोवास गर्दै आएका दलित मुसहर समुदायलाई १ ट्रक सुकेको दाउरा वितरण गरिएको हो ।
दाउरा वितरण कार्यक्रम सिरहा मिर्चैयाका पत्रकार श्याम कुमार ठाकुर तथा मिर्चैया नगरपालिकाका प्रतिनिधि शरवन साहको रोहबरमा सम्पन्न भएको थियो । नेपाली सेनाको टोलीले अत्यन्तै जोखिममा रहेका परिवारलाई प्राथमिकतामा राखी दाउरा उपलब्ध गराएको जनाएको छ ।
स्थानीय बासिन्दाहरूले शितलहरका कारण दैनिक जीवनयापनमा ठूलो कठिनाइ भोग्नुपरेको अवस्थामा नेपाली सेनाले समयमै सहयोग गरेको भन्दै प्रशंसा गरेका छन् । मिर्चैया स्थानीय बासिन्दाले पनि यस्तो विपद्को समयमा नेपाली सेनाले गरेको सहयोग उदाहरणीय रहेको बताउँदै श्री नन्दाबक्स गण परिवार तथा सम्पूर्ण नेपाली सेनाप्रति धन्यवाद व्यक्त गरे ।
उनका अनुसार यस्ता मानवीय सहयोगका कार्यले सैनिक–नागरिक सम्बन्ध अझ सुदृढ बनाउने र संकटको समयमा राज्यको उपस्थिति अनुभूति गराउने गर्दछ ।
शितलहर अझै केही दिन रहने मौसम पूर्वानुमान रहेकाले स्थानीय तह र सरोकारवाला निकायलाई थप सतर्कता अपनाउँदै राहतका कार्यक्रम अघि बढाउनुपर्ने आवश्यकता देखिएको छ




