रवि लामिछाने र बालेन शाहबीच वान टु वान वार्ता



काठमाडौँ ,पुस  १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच बिहीबार ललितपुरमा वान टु वान वार्ता भएको छ । चुनाव नजिकिँदै गर्दा नयाँ राजनीतिक शक्तिहरूबीच तालमेल र सहकार्यको प्रयास जारी रहेको बुझिएको छ ।

वार्ता बालेनका सहयोगी कुमार बेनको ज्वागलस्थित निवासमा भएको हो । यसअघि त्यही निवासमा सुदन गुरुङ, सुनील शर्मा, गणेश कार्की लगायत नेताहरू सामूहिक छलफलका लागि पुगेका थिए । पहिलो चरणको सामूहिक छलफलपछि अहिले बालेन र रवि मात्र दुई जनाबिच वान टु वान वार्तामा जुटेका छन् ।

स्रोतका अनुसार, वार्ताको मुख्य एजेन्डा आगामी प्रतिनिधि सभा निर्वाचनका लागि राजनीतिक तालमेल, गठबन्धनको सम्भावना र नयाँ शक्तिहरूबीच साझा रणनीति निर्माण रहेको छ । बालेन र रवि दुवैले आगामी निर्वाचनमा आफूहरूको प्रभावलाई मजबुत बनाउने र राजनीतिक रणनीति सुनिश्चित गर्ने दृष्टिले छलफल अगाडि बढाएको बताइएको छ ।

नजिकिँदो चुनावलाई ध्यानमा राख्दै नयाँ राजनीतिक शक्ति र स्वतन्त्र व्यक्तिहरूबीच सहकार्यको सम्भावना अझै स्पष्ट गर्न यो वार्ता महत्वपूर्ण देखिएको छ । राजनीतिक विश्लेषकहरूले यसलाई आगामी निर्वाचनमा नयाँ दल र शक्ति केन्द्रबीचको समन्वय र गठबन्धन निर्माणको संकेतका रूपमा मूल्याङ्कन गरेका छन् ।

बालेन–रवि वार्तापछि अन्य नेताहरू र अभियानकर्मीहरूसँग पनि संवाद जारी राख्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ । आगामी दिनमा यी वार्ताले गठबन्धनको स्वरूप र आगामी निर्वाचनमा उम्मेदवार तथा रणनीति तय गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: २०८२ पुष ११, बिहिवार १३:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको