ओम प्रकाश यादव
रौतहट, पुस ११ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैया बाराले तयार गरी मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाम धनुषाबाट स्वीकृत गरिएको “सडक दुर्घटना विरुद्ध युवा–२०८२ कार्य योजना” बमोजिम रौतहट जिल्लामा सवारी दुर्घटना न्यूनीकरणका लागि विशेष अभियान सञ्चालन गरिएको छ।
सोही कार्ययोजना अनुसार रौतहट जिल्लाअन्तर्गत पूर्व–पश्चिम राजमार्गको धनसर पुलदेखि बाग्मती पुलसम्म तथा चन्द्रनिगाहपुरदेखि गौर जाने सडक खण्डको बाल्चनपुर एरियासम्म रातिको समयमा हुस्सु तथा कुहिरोका कारण हुने सवारी दुर्घटनालाई कम गर्ने उद्देश्यले रिफ्लेक्ट स्टिकर टाँस्ने कार्य गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ।
सडक डिभिजन कार्यालय, चन्द्रनिगाहपुर रौतहटबाट प्राप्त विभिन्न रङका करिब ३५० फिट बराबरका रिफ्लेक्ट स्टिकरहरू ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटको संयुक्त सहकार्यमा उक्त सडक खण्डमा रहेका पुल, कल्भर्ट, साइन बोर्ड, डिभाइडर लगायतका जोखिमयुक्त स्थानहरूमा टाँसिएको प्रहरीले जनाएको छ।
रातिको समयमा कुहिरोका कारण दृश्यता कम भई सवारी चालकलाई सडकको अवस्था पहिचान गर्न कठिन हुने भएकाले रिफ्लेक्ट स्टिकर प्रयोगले सवारी चालकलाई समयमै संकेत प्राप्त हुने र सम्भावित दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रहरीका अनुसार यस किसिमको सचेतनामूलक तथा प्रविधिमैत्री पहलले सवारी सुरक्षा प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।
आगामी दिनमा पनि स्थानीय तह, सरोकारवाला निकाय तथा नागरिकसँग सहकार्य गर्दै सडक सुरक्षासम्बन्धी यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिइने जनाएको छ।




