निर्वाचनको ४५ दिन अघिबाट आचारसंहिता लागु गर्ने आयोगको तयारी



काठमाडौं , पुस  ११ । निर्वाचन आयोगले फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको ४५ दिन अघिबाट निर्वाचन आचारसंहिता लागु गर्ने तयारी थालेको छ। आयोगले आचारसंहिता २०८२ को मस्यौदा तयार गरी सरोकारवालासँग राय सुझाव मागिरहेको छ। आगामी साता राजनीतिक दल र सरकारसँग छलफल गरी यसलाई अन्तिम रूप दिने तयारी भइरहेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ले बताए।

उनका अनुसार यसअघिका निर्वाचनमा ४५ दिनअघिबाट आचारसंहिता लागु हुने प्रचलन रहेको छ र यसपटक पनि सोही प्रचलनको पालना हुने छ। यस हिसाबले माघको पहिलो सातादेखि आचारसंहिता लागु हुने अपेक्षा गरिएको छ।

निर्वाचन आचारसंहिताले स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता र भयमुक्त वातावरण सुनिश्चित गर्ने कानुनी आधार प्रदान गर्दछ। आचारसंहिता लागु भएपछि सरकार, राजनीतिक दल र उम्मेदवारहरूले निर्वाचन बाहेकका काम, नियुक्ति, सरुवा, बढुवा वा दैनिक कामकारबाही बाहेकका निर्णय गर्न पाउने छैनन्।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई का अनुसार प्रारम्भिक मस्यौदामा आएका सुझावलाई कानुन शाखाले उपयुक्त रुपमा समेट्ने काम भइरहेको छ। उनी भन्छन्, “हामीले दल र सरोकारवालासँग छलफल गरेर मस्यौदा तयार गरेका हौं। अब केही दिनभित्रै आचारसंहितालाई अन्तिम रूप दिने तयारी छ।”

आयोगको तयारीले निर्वाचनको निष्पक्ष र पारदर्शी संचालन सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। राजनीतिक दल, उम्मेदवार र सरकारी निकायहरूले आगामी निर्वाचनका लागि यस आचारसंहिताको पालना गर्दै सावधानी अपनाउनुपर्नेछ।

फागुन २१ को मतदान नजिकिँदै गर्दा निर्वाचन आयोगको यो कदमले निर्वाचन व्यवस्थापनलाई थप व्यवस्थित र कानुनी दायराभित्र सञ्चालन गर्न सहयोग पुग्नेछ।

प्रकाशित मिति: २०८२ पुष १२, शुक्रवार १२:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको