काठमाडौं , पुस ११ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फका आकांक्षी उम्मेदवारहरूको अन्तिम सूची सार्वजनिक गरेको छ। पार्टीले शुक्रबार आगामी २१ फागुन मा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै समानुपातिकतर्फका आकांक्षीहरूको नामावली सार्वजनिक गरेको हो।
रास्वपाका अनुसार समानुपातिक उम्मेदवार बन्न इच्छुक ४१४ जना ले पार्टीमा आवेदन दिएका थिए। तीमध्ये प्रारम्भिक मूल्यांकनपछि ३८७ जनाको नाम अन्तिम सूचीमा समावेश गरिएको छ। बाँकी २७ जना आकांक्षीको नाम भने सार्वजनिक सूचीमा समावेश नगरिएको पार्टीले जनाएको छ।
सूचीमा नाम नसमेटिएकाहरूलाई पूर्ण रूपमा बाहिर राखिएको भने होइन। रास्वपाले उनीहरूलाई भर्चुअल माध्यमबाट हुने उम्मेदवार छनोट प्रक्रियामा सहभागी गराइने स्पष्ट पारेको छ। यस प्रक्रियाबाट पार्टीले समावेशिता, योग्यता र आन्तरिक लोकतान्त्रिक अभ्यासलाई प्राथमिकता दिने दाबी गरेको छ।
समानुपातिक उम्मेदवार बन्ने आकांक्षीका लागि पार्टीले प्रति व्यक्ति ५० हजार रुपैयाँ आवेदन शुल्क तोकेको थियो। सोही शुल्कका आधारमा पार्टीले कुल २ करोड ७ लाख रुपैयाँ संकलन गरेको जनाएको छ। पार्टी नेतृत्वका अनुसार संकलित रकम पार्टी संगठन विस्तार, चुनावी तयारी तथा व्यवस्थापनमा प्रयोग गरिनेछ।
रास्वपाले सार्वजनिक गरेको अन्तिम सूचीमा विभिन्न पेशा, क्षेत्र, समुदाय र भौगोलिक प्रतिनिधित्व झल्किने आकांक्षीहरू समेटिएको बताइएको छ। पार्टीले पारदर्शी, प्रतिस्पर्धात्मक र समावेशी प्रक्रिया मार्फत उम्मेदवार छनोट गर्ने प्रतिबद्धता दोहोर्याएको छ।
सार्वजनिक सूचीसँगै रास्वपाले आगामी दिनमा हुने अन्तिम उम्मेदवार चयन प्रक्रिया थप व्यवस्थित र खुला बनाउने संकेत दिएको छ।




