काठमाडौँ , पुस ११ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुसभित्रै विशेष महाधिवेशन गर्नुपर्नेमा जोड दिएका छन्। शुक्रबार विशेष महाधिवेशन पक्षधर समूहले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनीहरूले अब विशेष महाधिवेशन बाहेक अर्को विकल्प नरहेको स्पष्ट पारेका हुन्।
महामन्त्री थापाले पार्टीभित्र लामो समयदेखि नियमित महाधिवेशनको माग उठ्दै आएको स्मरण गराउँदै नियमित महाधिवेशन हुन नसकेको अवस्थामा विशेष महाधिवेशन अपरिहार्य भइसकेको बताए।
‘हामीले निरन्तर नियमित महाधिवेशन हुनुपर्छ भन्यौँ। पुसभित्रै नियमित महाधिवेशन भएको भए ५४ प्रतिशत हस्ताक्षरकर्ता प्रतिनिधिको माग सम्बोधन हुने थियो,’ थापाले भने, ‘नियमित हुन नसक्ने अवस्थामा अब विशेष महाधिवेशन अनिवार्य छ। यो पुसभित्रै गर्नुपर्छ।’
उनका अनुसार विशेष महाधिवेशन कसरी र कहिले गर्ने भन्ने विषयमा अब पार्टीको केन्द्रीय कार्यालयमा छलफल गरी ठोस निर्णयमा पुगिनेछ।
महामन्त्री विश्वप्रकाश शर्माले पनि विधानअनुसार आवश्यक संख्यामा प्रतिनिधिको हस्ताक्षर बुझाइसकेपछि विशेष महाधिवेशनको प्रक्रिया अघि बढाउन ढिलाइ गर्न नहुने बताए। उनले विशेष महाधिवेशनको कार्यतालिका तय गर्न कार्यसम्पादन समितिमा प्रस्ताव लैजाने जानकारी दिए।
कार्यसम्पादन समिति बैठक चलिरहेका बेला महामन्त्रीद्वय विशेष महाधिवेशन पक्षधरको ज्ञापनपत्र बुझ्न बाहिर आएका थिए। उनीहरूले पार्टीभित्र देखिएको अन्योल अन्त्य गर्न समयमै निर्णय लिनु आवश्यक रहेको धारणा राखेका छन्।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दुई दिनपछि वडा तहको अधिवेशन सुरु हुनुपर्ने कार्यतालिका रहे पनि क्रियाशील सदस्यताको विषय टुंगिन नसक्दा महाधिवेशन प्रक्रिया अन्योलमा परेको छ। यही कारण पार्टीभित्र असन्तुष्टि बढ्दै गएको र विशेष महाधिवेशनको माग तीव्र बन्दै गएको नेताहरूको भनाइ छ।
विशेष महाधिवेशनको विषयले कांग्रेसको आन्तरिक राजनीतिमा नयाँ बहस सिर्जना गरेको छ भने आगामी निर्वाचनको तयारीसँग पनि यसको प्रत्यक्ष प्रभाव पर्ने देखिएको छ।




