काठमाडौं , पुस ११ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच सम्भावित सहकार्य तथा पार्टी एकताबारे छलफल तीव्र बनेको छ। दुवै पक्षबीच आज पनि वार्ता हुने तयारी छ। रास्वपाका एक नेताका अनुसार बिहीबार ज्वागलमा भएको पार्टी सभापति रवि लामिछाने र मेयर बालेन शाहबीचको भेट सकारात्मक र निष्कर्षउन्मुख रहेको छ।
रास्वपाका अनुसार आज दिउँसो वार्ता समितिका सदस्यहरूबीच पुनः छलफल हुनेछ। दुवै पक्षबाट दुई–दुई जना सहभागी हुने उक्त बैठकमा सहकार्यका खाकामाथि सहमति खोजिनेछ। प्रारम्भिक सहमति जुटेमा रवि र बालेन स्वयं सहभागी भएर अन्तिम निर्णयमा पुग्ने तयारी छ।
रास्वपाले बालेन शाहलाई चुनावपछिको संक्रमणकालीन सरकारको नेतृत्व (प्रधानमन्त्री) गर्ने प्रस्ताव अघि सारेको स्रोतले जनाएको छ। पार्टी एकीकरण भएमा पार्टी नेतृत्व रवि लामिछानेकै रहने तर बालेनलाई रविपछिको वरीयता दिन रास्वपा तयार रहेको बताइएको छ। एकीकृत पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी र चुनाव चिह्न घन्टी नै राख्ने प्रस्ताव पनि रास्वपाको छ।
रास्वपाको वार्ता समितिमा उपसभापति स्वर्णिम वाग्ले र शिशिर खनाल छन् भने मेयर बालेन शाहको तर्फबाट कुमार बेन र भूपदेव शाह सहभागी छन्। बालेननिकट दल देश विकास पार्टी हालै निर्वाचन आयोगमा अद्यावधिक भइसकेको छ र पार्टी कार्यालयसमेत सञ्चालनमा आएको छ।
पुस १३ र १४ गते समानुपातिक उम्मेदवारको सूची निर्वाचन आयोगमा बुझाउनुपर्ने समयसीमा नजिकिँदै जाँदा दुवै पक्षलाई सहमतिमा पुग्न समयको दबाब छ। रास्वपा र बालेन समूहबीच सहमति जुटेमा समानुपातिक सूचीसमेत मिलाएर एउटै बनाउनु पर्ने भएकाले वार्ता निर्णायक मोडमा पुगेको नेताहरूको भनाइ छ।
मेयर बालेन शाह पक्षका स्रोतका अनुसार मन्त्री कुलमान घिसिङ सँग मिलेर अघि बढ्ने विषयमा यसअघि नै समझदारी बनिसकेको छ। अब रास्वपा, बालेन समूह र अन्य वैकल्पिक शक्तिहरूबीचको सहकार्यले नेपाली राजनीतिमा नयाँ समीकरणको संकेत गरेको छ।




