काठमाडौं , पुस १२ । महानगरपालिकाका मेयर बालेन शाह र ऊर्जामन्त्री कुलमान घिसिङबीच राजनीतिक सहकार्यका विषयमा छलफल जारी रहेको छ। ललितपुरको ज्वागलस्थित कुमार बेनको निवासमा उनीहरूबीच भेटवार्ता भइरहेको उनीहरू निकट स्रोतहरूले बताएका छन्।
स्रोतका अनुसार बालेन र कुलमानबीच मिलेर नयाँ राजनीतिक धार अघि बढाउने विषयमा यसअघि नै लगभग सहमति बनिसकेको छ। उनीहरू ‘देश विकास’लाई केन्द्रमा राखेर साझा राजनीतिक अभियान अघि बढाउने तयारीमा देखिएका छन्। यही सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग पनि सहकार्य गर्ने विषयमा पछिल्लो समय घनिभूत छलफल हुँदै आएको छ।
ज्वागलमै बालेनसँग रास्वपा सभापति रवि लामिछाने र मन्त्री कुलमान घिसिङले छुट्टाछुट्टै भेटवार्ता गर्दै आएका छन्। तर, सांगठनिक संरचनाको विषयमा बालेन र रविबीच सहमति जुट्न नसकेको रास्वपा निकट एक नेताले जानकारी दिए।
रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने र पार्टी संरचनामा रविपछि दोस्रो वरीयता दिने प्रस्ताव गरेको थियो। साथै, आधारभूत तहसम्म संगठन विस्तार भइसकेको र संसदीय अनुभवसमेत हासिल गरिसकेको भन्दै सांगठनिक संरचनामा रास्वपाको प्रमुख हिस्सेदारी हुनुपर्ने प्रस्ताव अघि सारेको थियो।
तर, उक्त प्रस्तावमा बालेन सहमत देखिएका छैनन्। सिके राउतलगायत अन्य दलबाट आउने नेता–कार्यकर्तालाई समेत समेट्दै पार्टीलाई बृहत्तर बनाउने रणनीतिमा आफू रहेको भन्दै बालेनले रास्वपाको प्रस्ताव स्वीकार गर्न नसकेको उनी निकट स्रोतको भनाइ छ। यही कारण छलफल हालसम्म सकारात्मक निष्कर्षमा पुग्न सकेको छैन।
‘सांगठनिक स्ट्रेन्थमा हाम्रो हिस्सेदारी प्रमुख हुनुपर्छ भन्ने अडानकै कारण समस्या आएको हो,’ स्रोतले भन्यो।
यद्यपि, कुलमान घिसिङ र बालेन शाह भने मिलेर अघि बढ्ने विषयमा लगभग निश्चित देखिएका छन्। उनीहरूबीच जारी छलफलबाट छिट्टै ठोस निर्णय आउने अपेक्षा गरिएको छ। मधेश टुडेले यस विषयमा थप विवरणको निगरानी गरिरहेको छ।




