जनकपुरधाम, पुस १२ । मधेशमा जारी बाक्लो हुस्सु र कुहिरोका कारण जनजीवन अत्यन्त कष्टकर बनेको छ। विगत केही दिनदेखि राति र बिहानको समय विशेष गरी कुहिरोको घनत्व बढेको छ, जसले यातायात र विद्यालय तथा कार्यालयका गतिविधि प्रभावित भएका छन्।
स्थानिय बासिन्दाहरुले बताएअनुसार दृश्यता न्यून भएकाले सवारी साधन चलाउन गाह्रो भइरहेको छ। सडकमा हिँडडुल गर्ने व्यक्तिहरूलाई पनि कठिनाइ भइरहेको छ। साथै, घाम नदेखिनु र चिसो बढ्नुका कारण स्वास्थ्यमा समस्या हुने जोखिम पनि बढेको छ।
स्थानीयतहहरुले विद्यालयहरूमा छुट्टाछुट्टै निर्णय गर्दै केही विद्यालयहरू बन्द गरिएको भएपनि कतिपय स्थानीयतहले अझै विदा दिएको छैन । प्रशासनले सवारी चालक र पैदल यात्रुहरूलाई सावधानी अपनाउन आग्रह गरेको छ।
मौसम विभागले मधेशमा यस प्रकारको हुस्सु र कुहिरोको अवस्था आगामी केही दिनसम्म यथावत रहने जनाएको छ। जनतालाई स्वास्थ्य र सुरक्षा सम्बन्धी आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।




