समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेस गर्न निर्वाचन आयोगको अनुरोध



काठमाडौँ, पुस १२ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारको बन्दसूची पेस गर्न राजनीतिक दललाई अनुरोध गरेको छ। आयोगले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४, सम्बन्धित नियमावली तथा निर्देशिकाअनुसार प्रक्रिया पूरा गरी बन्दसूची बुझाउन आग्रह गरेको हो।

आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फ सहभागी सबै राजनीतिक दलहरूले पुस १३ र १४ गते दिउँसो ४ बजेसम्म उम्मेदवारको बन्दसूची पेस गर्नुपर्नेछ। बन्दसूची आयोग परिसरमा रहेको समानुपातिक निर्वाचन प्रणालीसम्बन्धी निर्वाचन अधिकृतको कार्यालयमा बुझाउनुपर्ने स्पष्ट गरिएको छ।

निर्वाचन आयोगले बन्दसूची तयार गर्दा संविधान र कानुनले व्यवस्था गरेको समावेशी सिद्धान्तलाई पूर्ण रूपमा पालना गर्न दलहरूलाई ध्यानाकर्षण गराएको छ। महिला, आदिवासी जनजाति, मधेसी, दलित, थारू, मुस्लिम, पिछडिएको क्षेत्र तथा अपाङ्गता भएका व्यक्तिहरूको समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुने गरी सूची तयार गर्नुपर्ने आयोगको भनाइ छ।

आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भण्डारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा तोकिएको समयसीमाभित्र सबै प्रक्रिया पूरा गरी बन्दसूची पेस गर्न राजनीतिक दलहरूलाई अनुरोध गरिएको छ। समयमै बन्दसूची नपेस भएमा कानुनअनुसारको प्रक्रिया लागू हुनेतर्फ पनि आयोगले ध्यानाकर्षण गराएको छ।

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गर्न आवश्यक तयारीलाई तीव्र बनाएको जनाएको छ। समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन प्रक्रियाको महत्वपूर्ण चरण भएकाले यसलाई गम्भीरताका साथ लिन आयोगले सबै राजनीतिक दललाई आग्रह गरेको छ।

आगामी निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरू आन्तरिक छलफलमा जुटिरहेका बेला आयोगको यो अनुरोधलाई निर्वाचन तयारीको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। आयोगले तोकिएको समयसीमाभित्र बन्दसूची पेस गर्न सबै दलको सक्रिय सहकार्य अपेक्षा गरेको छ।

प्रकाशित मिति: २०८२ पुष १३, शनिवार १७:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको