काठमाडौं, पुस ११ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आजदेखि प्रदेशस्तरीय विरोध सभा सुरु गरेको छ। संविधान संशोधन, निर्वाचन क्षेत्र पुनर्निर्धारण, जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीको व्यवस्था लगायत २८ बुँदे विभिन्न माग तथा राष्ट्रिय मुद्दा उठाउँदै पार्टीले यो कार्यक्रम अघि बढाएको हो।
पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार विरोध सभाअन्तर्गत आज कोशी प्रदेशको विराटनगरमा पहिलो सभा आयोजना गरिएको छ। त्यसैगरी पुस १४ गते मधेस प्रदेशको जनकपुरधाम, पुस १५ गते वीरगञ्ज र पुस १७ गते लुम्बिनी प्रदेशको भैरहवामा प्रदेशस्तरीय विरोध सभा हुने तालिका तय गरिएको छ।
उक्त विरोध सभालाई पार्टी अध्यक्ष उपेन्द्र यादवसहितका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सभामार्फत पार्टीले आफ्ना राजनीतिक मागहरू जनतामाझ स्पष्ट पार्ने जनाएको छ।
बस्नेतका अनुसार यसअघि नै जसपा नेपालले सातै प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम तथा पार्टी प्रदेश समितिहरूको अधिवेशन सम्पन्न गरिसकेको छ।
संघर्षका कार्यक्रमअन्तर्गत पार्टीले संसदीय निर्वाचन क्षेत्रका विभिन्न सहर–बजारमा विरोध कार्यक्रम र कोणसभा आयोजना गर्नुका साथै आफ्ना माग र मुद्दा अंकित प्लेकार्ड तथा ब्यानरसहित जिल्ला सदरमुकामस्थित जिल्ला प्रशासन कार्यालयअगाडि शान्तिपूर्ण धर्ना दिएको थियो। साथै जिल्लास्तरीय विरोध सभा तथा जनसभा समेत सम्पन्न गरिएको पार्टीले जनाएको छ।




