महोत्तरी, पुस १२ । महोत्तरी जिल्लाका विभिन्न बजार क्षेत्रमा सञ्चालनमा रहेका अधिकांश एग्रोभेट पसलहरू बिना अनुमति तथा अव्यवस्थित रूपमा सञ्चालन भइरहेको पाइएको छ। बीउ बिजन प्रयोगशाला, कृषि विकास निर्देशनालय, कृषि ज्ञान केन्द्र तथा सम्बन्धित स्थानीय तहको कृषि शाखाको संयुक्त अनुगमन टोलीले गरेको निरीक्षणका क्रममा गम्भीर कमजोरीहरू फेला परेका हुन्।
बीउ बिजन प्रयोगशाला जलेश्वरका प्रमुख मनिष पालको नेतृत्वमा रहेको अनुगमन टोलीले शुक्रबार दिनभर बर्दिवासका ४, औरहीका २ र गौशाला बजारका ५ गरी जम्मा ११ वटा एग्रोभेट पसलको निरीक्षण गरेको थियो। अनुगमनका क्रममा अनुमति पत्र बिना कारोबार गर्ने, म्याद सकिएका कागजात नवीकरण नगर्ने, तालिम प्राप्त व्यक्ति बिना विषादी बिक्री गर्ने तथा बीउ भण्डारण कक्ष अव्यवस्थित राखिएको जस्ता कैयौँ कमजोरी भेटिएको टोलीले जनाएको छ।
अनुगमन टोली आएको थाहा पाएपछि बर्दिवासस्थित एभरेष्ट एग्रो सेन्टरका सञ्चालकले पसल बन्द गरी फरार भएको जनाइएको छ। यस्तै, औरही नगरपालिकामा गरिएको निरीक्षणका क्रममा बीउ व्यवसायसँग सम्बन्धित कुनै पनि कागजात नराखी कारोबार भइरहेको पाइएको छ।
सोही क्रममा रामप्रित चौधरीद्वारा सञ्चालन गरिएको जयसवाल किसान पसलमा मलखाद र विषादीसँगै बिस्कुट, पेय पदार्थलगायत खाद्य सामग्रीसमेत एकै स्थानबाट बिक्री गरिएको भेटिएको थियो। यसलाई गम्भीर लापरबाही ठहर गर्दै सुधारका लागि तत्काल निर्देशन दिइएको र कारबाही प्रक्रिया अघि बढाइएको अनुगमन टोली प्रमुख पालले जानकारी दिए।
त्यस्तै, गौशाला नगरपालिकामा गरिएको निरीक्षणमा अधिकांश एग्रोभेटमा अनुमति पत्र भए पनि भण्डारण कक्ष अव्यवस्थित रहेको तथा केहीले अनुमति विना नै व्यवसाय सञ्चालन गरिरहेको पाइएको छ। गौशालास्थित रोशन बीज भण्डारले बर्दिवास–१४ र बर्दिवास–५ टुटेश्वरमा एउटै नामबाट तीनवटा एग्रोभेट सञ्चालन गरे पनि तालिम प्राप्त व्यक्ति बिना विषादी बिक्री गरेको र बीउ व्यवसाय अनुमति पत्र नवीकरण नगरेको भेटिएपछि सञ्चालक बीरेन्द्रकुमार महतोलाई स्पष्टिकरण सोधिएको छ।
यसैगरी, बर्दिवास नगरपालिकामा रहेका दाहाल एग्रो ट्रेड कन्सर्न, फुँयाल एग्रोभेट सेन्टर, किसान एग्रो ट्रेडर्स तथा रोशन खाद बीज भण्डारमा पनि बीउ व्यवसाय अनुमति पत्र नलिई वा समयमै नवीकरण नगरी कारोबार गरिएको पाइएको छ। कतिपय पसलमा तालिम प्राप्त व्यक्ति उपस्थित नरहेको तथा बीउ भण्डारण कक्ष व्यवस्थित नभएको अनुगमन टोलीले जनाएको छ।
अनुगमन टोली प्रमुख मनिष पालले किसानको हित र गुणस्तरीय कृषि सामग्रीको सुनिश्चितताका लागि नियम विपरीत सञ्चालन भएका एग्रोभेटलाई सुधारका लागि निर्देशन दिइएको र आगामी दिनमा अनुगमनलाई अझ कडाइका साथ निरन्तरता दिइने बताए।




