ओम प्रकाश यादव
रौतहट, पुस १२। रौतहट जिल्लाको कटहरिया नगरपालिका–९ डुमरियामा रहेको ज्योती डिस्टलरी प्रा.ली.मा बोइलर मेसिन अचानक पड्किँदा एक जना कामदारको घटनास्थलमै मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
विस्फोटमा परि कटहरिया नगरपालिका–८ निवासी अन्दाजी ४५ वर्षका लक्ष्मण राय यादवको घटनास्थलमै मृत्यु भएको छ। मृतकको शव घटनास्थलमै रहेको र कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
घटनामा घाइते हुनेहरुमा सोही डिस्टलरीमा काम गर्ने कटहरिया नगरपालिका–८ निवासी अन्दाजी ४५ वर्षका रहमोद आलम, अन्दाजी ३५ वर्षका प्रमजित यादव, अन्दाजी ५१ वर्षका जगदिश यादव (हातखुट्टा डढेको, अवस्था गम्भीर), अन्दाजी ५५ वर्षका बिगन यादव (हातखुट्टा डढेको, अवस्था गम्भीर), अन्दाजी ४० वर्षका कैलाश माली (मध्यम अवस्था) तथा गरुडा नगरपालिका–५ महमदपुर निवासी अन्दाजी ४० वर्षका मुकेश यादव (हातखुट्टा डढेको, अवस्था गम्भीर) रहेका छन्।
घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेकोले थप उपचारका लागि रेफर गरिएको बताइएको छ। घटनाको कारणबारे प्रारम्भिक अनुसन्धान भइरहेको र बोइलर विस्फोट कसरी भयो भन्ने विषयमा थप छानबिन जारी रहेको जिल्ला प्रहरीले जनाएको छ।
आज बिहान करिब ०८:३० बजेको समयमा डिस्टलरीमा जडान गरिएको बोइलर मेसिन अचानक पड्किएको हो।
घटनाबारे करिब ९ बजेको समयमा इलाका प्रहरी कार्यालय कटहरियामा खबर प्राप्त हुनासाथ इप्रका कटहरियाबाट संयुक्त प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो। प्रहरी टोलीले घटनास्थलमा पुगेर घाइतेहरुलाई तत्काल उपचारका लागि विभिन्न स्वास्थ्य संस्थामा पठाएको छ। बोइलर विस्फोटका कारण डिस्टलरीमा रहेको भौतिक संरचनामा पूर्ण रूपमा क्षति पुगेको प्रहरीले जनाएको छ। घटनास्थल इलाका प्रहरी कार्यालय कटहरियाबाट करिब ६ किलोमिटर दूरीमा पर्दछ।




