बालेनको ५०–५० प्रतिशत पावर सेयरिङ प्रस्तावमा रास्वपा असहमत



काठमाडौँ, पुस १२ । काठमाडौँ महानगरपालिका मेयर बालेन शाह नेतृत्वको टिम र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बीच हुने भनिएको निर्णायक वार्ता अनिश्चित बनेको छ। शुक्रबार भएको दुई पक्षीय बैठकमा बालेन पक्षले ५०–५० प्रतिशत पावर सेयरिङको प्रस्ताव राखेपछि सहमति जुट्न सकेन।

श्रोतका अनुसार, वार्तामा सभापति रवि लामिछानेलाई नेतृत्व दिने र भावी प्रधानमन्त्रीमा बालेनलाई प्रस्ताव गर्ने मोटामोटी सहमति भए पनि केन्द्रीय समिति र प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवारी छनोटमा आधा–आधा हिस्साको दाबी राखिएपछि दुई पक्षबीच सहमति हुन सकेको छैन।

शुक्रबार वार्ता असफल भएपछि बालेनले उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङसँग छलफल गरी फेरि वार्ता अघि बढाउने तयारी गरेका थिए। शनिबार बिहान बालेन समूह र कुलमानबीच छलफल भए पनि ठोस प्रस्ताव बाहिर आएको छैन।

रास्वपा पक्षका अनुसार, आजको दिनसम्म कुनै निर्णायक छलफल भएको छैन। “हामीले आज कुनै समूहसँग पनि बैठक गरेका छैनौँ। रवि र बालेनबीच छलफल हुने सम्भावना छैन। समानुपातिक उम्मेदवारको बन्द सूची पेस गर्ने समय १४ गतेसम्म भएकाले तत्काल हतार हुने अवस्था छैन,” रास्वपा निकटका श्रोतले बताए।

बालेन समूहले भने, कुलमानको प्रतीक्षामा रहेको र रेशम चौधरी तथा सिके राउतलाई पनि समेट्नुपर्ने प्रस्ताव राखेको बताएको छ।

मंगलबार रातिदेखि रास्वपा वार्ता संवाद समितिका सहसंयोजक शिशिर खनाल, अमित शाह र बालेन समूहका कुमार बेन, भूपदेव शाह लगायतले लगातार छलफल गरे पनि कुनै निष्कर्ष निस्किएको छैन।

राजनीतिक विश्लेषकहरूले अबको वार्ता परिणाम आगामी प्रतिनिधिसभा समानुपातिक निर्वाचन र आगामी गठबन्धनको दिशा निर्धारणमा निर्णायक भूमिका खेल्ने बताएका छन्।

प्रकाशित मिति: २०८२ पुष १३, शनिवार १६:२३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको