कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव हुँदैन : कुलमान घिसिङ



काठमाडौँ, पुस १२ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले राजनीतिक एकता कसैको अस्तित्व समाप्त गरेर सम्भव नहुने बताएका छन्। उनले नयाँ शक्तिहरूले सबैको अस्तित्व स्वीकार गर्दै सम्मानका साथ एकताबद्ध हुनुपर्ने धारणा राखेका छन्।

शनिबार काठमाडौंको बौद्धमा उज्यालो नेपाल पार्टी नुवाकोट–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री घिसिङले भने, “एकतको अर्थ अरुलाई समाप्त गर्नु होइन। सबैको अस्तित्व स्वीकार गर्दै सबैलाई सम्मान हुनेगरी अघि बढ्नु नै साँचो एकता हो।”

उनले नयाँ शक्तिहरूले अहंकार त्यागेर साझा उद्देश्यका लागि एकजुट हुनुपर्नेमा जोड दिँदै भने, “जनताको भावना नयाँ शक्तिहरू एकजुट होउन भन्ने रहेको छ। हामीले यही चाहना पूरा गर्न सक्नुपर्छ।”

मन्त्री घिसिङले उज्यालो नेपाल पार्टीको पहिचान जनजीवनसँग जोडिएको बताए। “घरमा बत्ती बल्यो भने उज्यालो हुन्छ। त्यसै उज्यालोबाट उज्यालो नेपाल चिनिनुपर्छ,” उनले कार्यकर्तालाई निर्देशन दिए।

उनले जनतामाझ पार्टीप्रति विश्वास बढ्दै गएको र आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई देशको भविष्य बदल्ने महत्वपूर्ण अवसरका रूपमा लिन आग्रह गरे। मन्त्री घिसिङले निर्वाचनमार्फत सही, इमानदार र जनउत्तरदायी नेतृत्व चयन गर्न सकिने भन्दै सबै नागरिक सचेत भएर अघि बढ्नुपर्नेमा जोड दिए।

“अब देश पुरानै ढर्राबाट अगाडि बढ्न सक्दैन। देशलाई नयाँ शिराबाट अगाडि बढाउन सक्ने नेतृत्व आवश्यक छ। त्यो नेतृत्व दिन जनता स्वयं अघि सर्नुपर्छ,” उनले भने।

मन्त्री घिसिङले उज्यालो नेपाल पार्टीले देशभर सङ्गठनात्मक संरचना विस्तार गर्दै आएको र सानो झिल्कोबाट सुरु भएको अभियान आज राष्ट्रिय अभियानमा परिणत भइसकेको बताए। उनले भने, “एउटा सानो उज्यालोको झिल्को अब देशैभर फैलिँदैछ। यसले देशको नेतृत्व परिवर्तन गर्ने आधार तयार गर्दैछ।”

उक्त कार्यक्रम राष्ट्रिय स्वतन्त्र पार्टीका काठमाडौं मेयर बालेन शाह र मन्त्री कुलमानबीच चलिरहेको एकताको प्रयासका सन्दर्भमा पनि महत्त्वपूर्ण रहेको छ।

प्रकाशित मिति: २०८२ पुष १३, शनिवार १५:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको