काठमाडौं ,पुस १३ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारले चुनावी प्रचार प्रसारमा दुईभन्दा बढी गाडी प्रयोग गर्न नपाउने भएका छन्। निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता २०८२ अनुसार, नियम उल्लंघन भए कारबाही हुनेछ।
आचारसंहितामा उल्लेख छ, “निर्वाचन अधिकृतको अनुमति लिई उम्मेदवार भएको सम्बन्धित निर्वाचन क्षेत्रमा वा उम्मेदवार भएको स्थानमा आयोगले तोके बमोजिम बढीमा दुई वटा दुई पाङ्ग्रे, तीन पाङ्ग्रे वा चार पाङ्ग्रे विद्युतीय तथा यान्त्रिक सवारी साधन प्रयोग गर्न सक्नेछन्। यदि त्यस्तो सवारी साधन चलाउन नसकिने ठाउँमा भने बढीमा चार वटा घोडा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।”
त्यसैगरी, राजनीतिक दल, उम्मेदवार, पार्टीका भातृसंगठन वा सम्बन्धित व्यक्तिले चुनावी प्रचारमा प्रयोग गर्ने सवारी साधन विदेशी नम्बर प्लेटका हुन नहुने पनि नियममा उल्लेख छ।
एक दल वा उम्मेदवारले अनुमति लिएको सवारी साधन अर्को दल वा उम्मेदवारलाई प्रयोग गर्न दिन नहुने र कुनै उम्मेदवारले उक्त सवारी साधन प्रयोग गरी मतदाता ओसारपसार गर्न नहुने नियम पनि यसमा स्पष्ट गरिएको छ।
निर्वाचन अधिकृतको अनुमति लिएर मात्र तोकिएको सवारी साधन प्रयोग गर्न सकिने यस प्रावधानले चुनावी मैदानलाई निष्पक्ष बनाउन मद्दत पुर्याउने अपेक्षा गरिएको छ।
यस नियमको उद्देश्य चुनावी खर्च र असमान प्रचारको अवस्था कम गर्नु र सबै उम्मेदवारलाई समान अवसर सुनिश्चित गर्नु हो। निर्वाचन आयोगले उल्लंघन हुँदा तत्काल कारबाही गर्ने प्रावधान राखेको छ।
उम्मेदवार र दलहरूले अब चुनावी प्रचारका लागि सवारी साधनको सही व्यवस्थापन गर्दै, आचारसंहिताको पालना गर्नुपर्ने अवस्था आएको छ।




