नेपालगन्ज , पुस १३ । राप्तीसोनारी गाउँपालिका–२, मदुईका उदयाराम पुनले कालिज पालनबाट गाउँमै बसेर विदेश रोजगारी भन्दा धेरै आम्दानी गर्ने उदाहरण प्रस्तुत गर्नुभएको छ। पाँच वर्षअघि २०० वटा कालिजबाट व्यवसाय सुरु गरेका पुनसँग अहिले १,५०० भन्दा बढी कालिज छन्।
पुनका अनुसार, गत वर्ष उहाँले करिब ३० लाख रुपियाँको कारोबार गर्नु भएको थियो भने यस वर्ष यो संख्या ३५–४० लाख रुपियाँसम्म पुग्ने अपेक्षा गरिएको छ। सुरुमा विदेश जान खोज्दा दलालको ठगी र रकम अभावले समस्या भएपछि गाउँमै वैकल्पिक आयका रूपमा कालिज पालन व्यवसाय सुरु गरिएको थियो।
व्यवसायको सुरुवाती चरणमा चुनौतीपूर्ण अनुभव भए पनि पुनले हिम्मत नहारेर अघि बढेका छन्। पहिलो पटक दाङबाट ल्याइएका २०० चल्लामध्ये १५० भन्दा बढी मरे पनि उहाँले सिक्दै अघि बढेर आज सफल व्यवसाय सञ्चालन गर्नुभएको छ।
उहाँको दुई कठ्ठा जग्गामा सञ्चालन हुने फार्ममा आफ्नै ह्याचरी मेसिन पनि जडान गरिएको छ। पुनले उत्पादन भएका कालिजका चल्ला बाँके र बर्दियालगायत कर्णाली प्रदेशका जिल्लामा पठाइरहनुभएको छ। एक दिनको चल्ला प्रतिगोटा २५० रुपियाँ, भाले कालिज २,५०० र पोथी कालिज १,२५० रुपियाँ प्रति किलोमा बिक्री भइरहेको छ। बाँकेका होटलमा कालिजको मासु विशेष परिकारका रूपमा लोकप्रिय बन्दै गएको छ।
हाल पुनसँग ८० पोथी र २५ भाले बीउका लागि छुट्टै राखिएको छ। आउँदो फागुनदेखि थप चार कठ्ठा जग्गामा व्यवसाय विस्तार गर्ने तयारी पनि रहेको उहाँले बताउनुभयो।
यस्तै, कोहलपुरकी सरिता थापा जस्ता अन्य उद्यमी पनि कालिज पालनमा संलग्न छन्। उहाँसँग हाल ५०० कालिज बिक्रीका लागि तयार रहेको छ। जाडोको मौसममा कालिजको माग अत्यधिक हुने गरेको र यस व्यवसायले बाँकेमा कृषकका लागि वैकल्पिक आयआर्जनको माध्यमका रूपमा विकास पाउँदै गएको कृषकहरूले बताएका छन्।




