काठमाडौं , पुस १३ । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनको समानुपातिक प्रणालीतर्फ नयाँ अनुहारलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। पार्टीले यसअघि पटक–पटक समानुपातिक सांसद बनेकाहरूलाई यसपटक उम्मेदवार सूचीमा नराख्ने स्पष्ट नीति लिएको हो।
कांग्रेस स्रोतका अनुसार, २०६४ देखि २०७९ सालसम्म भएका निर्वाचनमा समानुपातिक सांसद भएका नेताहरूलाई यसपालि सूचीबाट बाहिर राख्ने निर्णय गरिएको छ। “पार्टीमा बारम्बार अवसर पाएकालाई यसपटक समानुपातिकतर्फ उम्मेदवार नबनाउने निर्णय भएको छ,” एक पदाधिकारीले बताए, “यसले पार्टीभित्रका नयाँ र सक्रिय कार्यकर्तालाई अवसर दिनेछ।”
निर्वाचन आयोगमा समानुपातिकतर्फ उम्मेदवारको बन्द सूची बुझाउने समय आज र भोलि तोकिएको छ। सोही सन्दर्भमा कांग्रेसले सानेपामा बसेको बैठकमार्फत यो निर्णय गरेको हो। पार्टी अहिले समानुपातिक उम्मेदवारको सूची अन्तिम रूप दिने प्रक्रियामा रहेको छ।
कांग्रेसले क्षेत्र, जिल्ला र प्रदेशबाट आएका सिफारिसका आधारमा उम्मेदवार छनोट गर्ने तयारी गरेको छ। यस क्रममा युवा, महिला, दलित, आदिवासी जनजाति, मधेसी तथा पिछडिएका वर्गका नयाँ अनुहारहरूलाई प्राथमिकता दिने पार्टीको रणनीति रहेको बताइएको छ।
पार्टी नेतृत्वले समानुपातिक प्रणालीलाई अवसरको माध्यमका रूपमा प्रयोग गर्दै संगठन विस्तार र पुस्तान्तरणलाई अघि बढाउने लक्ष्य लिएको जनाएको छ। लामो समयदेखि एउटै व्यक्तिलाई अवसर दिँदा पार्टीभित्र असन्तुष्टि बढेको भन्दै नयाँ नीति आवश्यक भएको निष्कर्ष निकालिएको हो।
कांग्रेसको यो निर्णयलाई पार्टीभित्र नयाँ नेतृत्व विकास र समावेशी प्रतिनिधित्वतर्फको सकारात्मक कदमका रूपमा हेरिएको छ। आगामी निर्वाचनमा यस निर्णयले पार्टीको संगठनात्मक ऊर्जा र जनसमर्थनमा कस्तो प्रभाव पार्छ भन्ने विषय चासोका साथ हेरिएको छ।




