कांग्रेसले बागी उम्मेदवारमाथिको कारबाही फुकुवा गर्‍यो



काठमाडौं , पुस  १३ । नेपाली कांग्रेसले अघिल्ला निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका नेताहरू माथि गरिएको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ। पार्टीको कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो।

निर्णयबारे जानकारी गराउँदै कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीका सबै तल्ला कमिटीलाई परिपत्र पठाएका छन्। परिपत्रमा विगतका निर्वाचनमा पार्टीको अनुशासन विपरीत काम गरेका कारण केन्द्रीय अनुशासन समितिबाट निष्कासन, निलम्बन वा पार्टी विधानअनुसार स्वतः कारबाहीमा परेकाहरूको बाँकी अवधि माफीरमिनाहा गरिएको उल्लेख छ।

परिपत्रमा भनिएको छ, “पार्टीका आधिकारिक उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध उम्मेदवार बनेका, तिनका प्रस्तावक तथा समर्थक वा असहयोग गरी अनुशासन उल्लंघन गरेका व्यक्तिहरूमाथि गरिएको कारबाहीको बाँकी अवधि माफी गर्ने निर्णय गरिएको छ।”

यद्यपि, कारबाही माफी पाएका व्यक्तिहरूले पार्टीमा यसअघि वहाल रहेको कुनै पनि पद कायम नरहने व्यवस्था गरिएको छ। तर, उनीहरूको क्रियाशील सदस्यता भने निरन्तर कायम रहने र विधानअनुसार नवीकरण गर्न सकिने निर्णय भएको परिपत्रमा उल्लेख छ।

पार्टी नेतृत्वले आगामी निर्वाचनलाई लक्षित गर्दै संगठनलाई एकताबद्ध बनाउन र विगतका असन्तुष्टि हटाउन यो निर्णय लिएको विश्लेषण गरिएको छ। कांग्रेसले आन्तरिक मतभेद अन्त्य गर्दै पार्टीभित्र समन्वय र सहकार्य बढाउने उद्देश्यसहित कारबाही फुकुवा गरेको बताइएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार, कांग्रेसको यो निर्णयले पार्टीभित्र रहेका असन्तुष्ट समूहलाई पुनः मूलधारमा ल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। आगामी निर्वाचनको तयारीमा जुटिरहेको कांग्रेसका लागि यो कदम संगठन सुदृढीकरणतर्फको महत्वपूर्ण प्रयासका रूपमा हेरिएको छ।

प्रकाशित मिति: २०८२ पुष १४, आइतवार १६:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको