रौतहटमा निःशुल्क आँखा शिविर, ७४२ जनाको परीक्षण



रौतहट, पुस १३ । ईशनाथ नगरपालिका–१ बन्जरहामा शनिबार आयोजित निःशुल्क आँखा शिविर मा ७४२ जनाको आँखा परीक्षण गरिएको छ । नेपाल नेत्रज्योति सङ्घ, गौर आँखा अस्पताल पुरेनवा रौतहटको आयोजनामा तथा नेपाल भारत मैत्री सङ्घ रौतहटको समन्वयमा सम्पन्न शिविरमा स्थानीय नागरिक, वृद्ध–वृद्धा, गरिब र पिछडिएका वर्गले आँखा स्वास्थ्य सेवा लिएका छन् ।

शिविरमा ४१९ महिला र ३२३ पुरुषको आँखा परीक्षण गरिएको छ । परीक्षणपछि १५६ जनालाई चश्मा वितरण गरिएको थियो भने २२९ जनालाई आवश्यक औषधी प्रदान गरिएको कार्यक्रम संयोजक सत्येन्द्र पाण्डेले जानकारी दिए । शिविरमा मोतीविन्दुसहित जटिल दृष्टि समस्या भएका १२७ जनालाई आवश्यक शल्यक्रिया गरिने पनि जानकारी दिइएको छ ।

शिविर ईशनाथ नगरपालिकाका सामाजिक अगुवा ग्रिषनन्दन कुमार सिंहको पहलमा आयोजना गरिएको थियो । उद्घाटन कार्यक्रममा नेपाल भारत मैत्री सङ्घ रौतहटका अध्यक्ष ग्रिषनन्दन कुमार सिंह, सङ्घका केन्द्रीय अध्यक्ष शैलेन्द्रमोहन झा, भारतको बिहार राज्यका पूर्व मन्त्री र विधान सभा सदस्य राणा रणधीर सिंह, मधेश प्रदेश सभा सदस्य एवं पूर्व अर्थमन्त्री सुनिलकुमार यादव, ईशनाथ नगरपालिकाका नगरप्रमुख कौशल्यादेवी, प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल लगायतको सहभागिता रहेको थियो ।

नेत्रज्योति सङ्घ रौतहटका अध्यक्ष विजयकुमार सिंहले गौर आँखा अस्पतालको भवन ३० वर्ष पुरानो भइसकेको र बढ्दो बिरामीको चापका कारण अब भवन विस्तार वा नयाँ संरचना आवश्यक रहेको बताए । शिविरमा सहभागी सेवाग्राहीहरूले प्रदान गरिएको निःशुल्क सेवाप्रति सन्तोष व्यक्त गर्दै यस्ता कार्यक्रम नियमित रूपमा सञ्चालन गर्न आग्रह गरेका छन् ।

शिविरले विशेषगरी वृद्ध नागरिकका लागि आँखा उपचारमा ठूलो राहत दिएको छ र समुदायमा स्वास्थ्य पहुँच बढाउन यस प्रकारका कार्यक्रम महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ ।

प्रकाशित मिति: २०८२ पुष १४, आइतवार १२:४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको