विज्ञ अभावले मधेस प्रदेशमा पशु तथा बाली अनुसन्धान प्रभावित



बारा,पुस १३ । संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहत रहेको कृषि अनुसन्धान निर्देशनालय, परवानीपुरमा आवश्यक वैज्ञानिक जनशक्ति नहुँदा मधेस प्रदेशमा पशु तथा बालीसम्बन्धी अनुसन्धान गम्भीर रूपमा प्रभावित भएको छ ।

निर्देशनालयमा १७ जना वैज्ञानिकको दरबन्दी रहे पनि हाल केवल ३ जनामात्रै कार्यरत छन् । माटो, बागवानी, पशु, माछा, कीट तथा बाली रोगसम्बन्धी विज्ञ नहुँदा नयाँ जातको विकास, बीउ उत्पादन तथा अनुसन्धान कार्यमा समस्या देखिएको हो ।

कृषि अनुसन्धान निर्देशनालयका प्रशासकीय प्रमुख हरिहर न्यौपानेका अनुसार विज्ञ कर्मचारीको अभावले अन्नबाली र बागवानी क्षेत्रमा नयाँ–नयाँ अनुसन्धान तथा परीक्षण कार्य प्रभावित बनेको छ । “हाम्रा बाहिरी कार्यालयहरूले पनि यहाँ विभिन्न अनुसन्धान र परीक्षण गराउँछन्, तर जनशक्ति अभावले काम गर्न कठिन भएको छ,” उनले भने । अध्ययन बिदामा रहेका माटो, कीट तथा बाली रोग विशेषज्ञ र पशु चिकित्सकको अभावले समस्या थप जटिल बनेको उनको भनाइ छ ।

निर्देशनालयले मधेस प्रदेशका आठवटै जिल्लामा अनुसन्धान, बीजवृद्धि, स्थलगत परीक्षण र नयाँ प्रजातिको विकासजस्ता कार्य गर्दै आएको छ । तर ७६ जना कर्मचारीको दरबन्दी हुँदाहुँदै २२ जनाले मात्र काम चलाउनुपरेको अवस्था रहेको छ । अधिकृत तहका १८ प्राविधिकमध्ये ३ जना, सुब्बा तहका ७ मध्ये २ जना र खरिदार तहका ९ मध्ये १ जनामात्रै कार्यरत छन् ।

निर्देशक डा। विश्वेश्वर यादवका अनुसार तराई–मधेस अन्नको भण्डार मानिए पनि विज्ञ अभावका कारण सम्भावनाअनुसार अनुसन्धान गर्न सकिएको छैन । “अन्य प्रदेशको तुलनामा कम जनशक्तिबाट पनि हामीले राम्रो काम गरेका छौँ, तर दरबन्दीअनुसार वैज्ञानिक भए अझ प्रभावकारी नतिजा आउँथ्यो,” उनले भने ।

निर्देशनालयसँग रहेको ९० बिघा जग्गामध्ये ३० बिघामा धान, मकै र गहुँको बीउ उत्पादन हुँदै आएको छ भने बाँकी क्षेत्रमा तेलहन, तरकारी, फलफूल खेती र भैंसी तथा बाख्रा अनुसन्धान कार्यक्रम सञ्चालनमा छन् ।

कर्मचारी पदपूर्तिका लागि संघीय सरकारसँग निरन्तर छलफल भइरहेको र फागुन २१ अघि पदपूर्ति हुने सम्भावना रहेको निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति: २०८२ पुष १३, आईतवार ११:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको