रवि–बालेन एकताले सेयर लगानीकर्ता उत्साहित, नेप्से ४७ अंक उचालियो



काठमाडौं ,पुस  १३ । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै नेप्से सूचक करिब २ प्रतिशतले बढेको छ। आइतबार नेप्से सूचक २५८५.८७ बाट २६३३.४२ अंकमा पुगेको र २ सय ३८ कम्पनीको सेयर मूल्य बढेको छ।

आइतबार नेप्सेमा ३२८ कम्पनीको १ करोड ३४ लाख कित्ता सेयर ५ अर्ब ५३ करोड रुपैयाँमा कारोबार भएको छ। राजनीतिक अस्थिरता र सुस्त अर्थतन्त्रका कारण निराश लगानीकर्ता नयाँ राजनीतिक शक्तिको मिलनपछि उत्साहित भएका छन्।

विश्लेषकका अनुसार, आगामी प्रधानमन्त्री बालेन र पार्टी अध्यक्ष रवि लामिछाने हुने गरी भएको सहमतिले नेपाली राजनीतिमा स्थिरता ल्याउने संकेत दिएको छ। आगामी २१ फागुनमा संसदीय निर्वाचन हुने सम्भावनाले समेत सेयर बजारलाई सकारात्मक असर पारेको देखिन्छ।

आइतबारको बजारमा अधिकांश कम्पनीको सुरु मूल्यमा सुधार आएपछि समग्र सूचक उच्च अंकले बढेको हो। विशेषतः मिडिल सोलु हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.४९ प्रतिशतले बढेको छ भने विन नेपाल लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घटेको छ।

बजारमा सुधारसँगै कारोबार रकम पनि बढेको छ। आइतबार ३२८ कम्पनीको सेयर ८९ हजार २ सय ५९ कारोबारबाट ५ अर्ब ५३ करोड १३ लाख रुपैयाँमा खरिद–बिक्री भएको छ। यो रकम गत हप्ता बुधबारको ३ अर्ब १९ करोड रुपैयाँको कारोबारभन्दा बढी हो।

लगानीकर्ता र बजार विश्लेषकका अनुसार, रवि–बालेन सहमति र राजनीतिक वातावरणको सकारात्मक संकेतले आगामी दिनमा पनि नेप्से बजार बढ्ने सम्भावना देखाउँछ।

प्रकाशित मिति: २०८२ पुष १४, आइतवार १६:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको