रसुवागढी नाका आंशिक सञ्चालनमा, ६ महिनामा २१ अर्ब राजस्व गुम्यो



काठमाडौं , पुस १३ । छ महिनादेखि बन्द रहेको नेपाल–चीन जोड्ने प्रमुख व्यापारिक नाका रसुवागढी आंशिक रूपमा सञ्चालनमा आएको छ। गत असार २४ गते चीनतर्फको लेन्दे खोलामा आएको भीषण बाढीले मितेरी पुल बगाएपछि नाका पूर्ण रूपमा ठप्प बनेको थियो। चीन सरकारले सो स्थानमा बेलिब्रिज जडान गरेपछि आइतबारदेखि सीमित आवतजावत सुरु भएको हो।

रसुवागढी भन्सार कार्यालयका प्रमुख तुलसीप्रसाद भट्टराईका अनुसार हाल व्यवसायसँग सम्बन्धित व्यक्तिहरूलाई मात्र आवतजावतको अनुमति दिइएको छ। मालसामान बोकेका सवारी साधन भने जनवरी १ ९पुस १७० देखि मात्र सञ्चालनमा ल्याइने तयारी छ। आगामी बिहीबारदेखि आयात प्रक्रियामा थप सहजता आउने अपेक्षा गरिएको छ।

छ महिनासम्म नाका बन्द रहँदा राज्यकोषमा ठूलो क्षति पुगेको छ। भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको पुससम्ममा मात्रै झण्डै २१ अर्ब रुपैयाँ बराबरको राजस्व घाटा भएको छ। औद्योगिक कच्चा पदार्थ, जलविद्युत् आयोजनाका सामग्री तथा दैनिक उपभोग्य वस्तुको आयात प्रभावित हुँदा अर्थतन्त्रमा समेत नकारात्मक असर परेको छ।

नाका बन्द भएपछि रसुवागढी हुँदै काठमाडौं आउने सामान कोरला र तातोपानी नाका हुँदै घुमाएर ल्याउनुपर्दा ढुवानी खर्च तीन गुणासम्म बढेको छ। पहिले ७–८ दिनमा एक लाख रुपैयाँभन्दा कम खर्चमा आउने सामान अहिले तीन लाख रुपैयाँसम्म खर्चिनुपर्ने अवस्था आएको छ, जसको प्रत्यक्ष असर उपभोक्तामा परेको छ।

यद्यपि नाका खुल्न थालेपछि व्यापारी र उपभोक्तामा आशा पलाएको छ। चीनबाट सिधै आयात सुरु भएसँगै बजारमा मूल्य घट्ने अपेक्षा गरिएको छ। तर बाढीले पुर्‍याएको भौतिक क्षतिको पूर्ण पुनर्निर्माण अझै सुरु हुन सकेको छैन।

नेपाल–चीन जोड्ने गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकको अवस्था पनि सन्तोषजनक छैन। मुआब्जा विवाद, पहिरो र निर्माण ढिलाइका कारण सडक विस्तार सुस्त छ। यद्यपि बेलिब्रिज सञ्चालनमा आएसँगै अब कामले गति लिने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०८२ पुष १४, आइतवार १७:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको