समानुपातिक सांसद छान्न कांग्रेसमा तीन गुटबीच रस्साकस्सी



काठमाडौँ,पुस १३ । प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फका सांसद छान्न नेपाली कांग्रेसभित्र तीव्र आन्तरिक रस्साकस्सी देखिएको छ । निर्वाचन आयोगले राजनीतिक दलहरूलाई पुस १४ गतेसम्म समानुपातिकतर्फको बन्दसूची बुझाउन र पुस २१ गतेसम्म सच्याउने समयसीमा तोकेसँगै कांग्रेसमा उम्मेदवार चयन प्रक्रिया पेचिलो बनेको हो ।

विघटित प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल कांग्रेसले समानुपातिकतर्फ आकांक्षीहरूको नाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश हुँदै केन्द्रमा मगाइसकेको छ । पार्टी प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार तल्ला तहबाट प्रक्रियागत रूपमा आएका नामका आधारमा केन्द्रमा सूची निर्माणको तयारी भइरहेको छ ।

तर केन्द्रमा पुगेपछि कांग्रेसका तीन प्रमुख गुट—संस्थापन, डा. शेखर कोइराला नेतृत्वको इतर समूह र महामन्त्री गगन थापा समूह—आ–आफ्नै सूची तयार गर्न लागेका छन् । यसले अन्तिम सूचीमा कसको प्रभाव रहने भन्ने विषयलाई लिएर पार्टीभित्र तनाव बढाएको छ ।

संस्थापन समूहले प्रदेशगत रूपमा नेताहरूलाई जिम्मेवारी बाँडेर सूची निर्माणको गृहकार्य गरिरहेको छ । मधेस प्रदेशमा सहमहामन्त्री महेन्द्र यादव, बागमतीमा प्रवक्ता डा. महत, कोशीमा ज्ञानेन्द्रबहादुर कार्की लगायतलाई जिम्मेवारी दिइएको छ । यस्तै, अन्य प्रदेशमा पनि प्रभावशाली नेताहरूलाई सूची निर्माणको जिम्मा दिइएको छ ।

डा। शेखर कोइराला समूहले पनि छुट्टै सूची बनाइरहेको जनाएको छ । उक्त समूहको तर्फबाट डा.कोइराला, उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीहरू र केही केन्द्रीय नेताहरू सक्रिय छन् । अर्कोतर्फ महामन्त्री गगन थापा स्वयं र उनको सचिवालयले पनि अलग सूची तयार गरिरहेको बताइएको छ, जसमा महामन्त्री विश्वप्रकाश शर्माको नाम समेत समेटिने चर्चा छ ।

समय अभावका कारण कांग्रेसले विधानमा व्यवस्था भएअनुसार संसदीय समिति गठन नगरी कार्यसम्पादन समितिबाटै समानुपातिकको बन्दसूची पारित गरेर निर्वाचन आयोगमा बुझाउने तयारी गरेको छ । पार्टी नेतृत्वले तोकिएको समयमै सूची बुझाइने जनाएको भए पनि आन्तरिक सहमति जुटाउन भने चुनौती देखिएको छ ।

प्रकाशित मिति: २०८२ पुष १४, आइतवार १२:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको