पाँच दलले पेस गरे समानुपातिक उम्मेदवारको बन्दसूची



काठमाडौँ , पुस  १४ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ पाँच राजनीतिक दलले उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेस गरेका छन्। आयोगका अनुसार सोमबार दिउँसो साढे १२ बजेसम्म पाँच दलले मात्र बन्दसूची दर्ता गराएका हुन्।

निर्वाचन आयोगले तोकेको कार्यतालिका अनुसार समानुपातिकतर्फ बन्दसूची बुझाउने सोमबार अन्तिम दिन हो। आयोगले दलहरूलाई सोमबार साँझ चार बजेसम्म टोकन लिइसक्न आग्रह गरेको छ। टोकन लिएका दलहरूले निर्धारित समयभित्र बन्दसूची दर्ता गर्न सक्ने व्यवस्था गरिएको आयोगले जनाएको छ।

आयोगका अनुसार आइतबार पहिलो दिन तीन राजनीतिक दलले मात्र बन्दसूची पेस गरेका थिए। ती दलहरूमा नेपाल मजदुर किसान पार्टी, नेपाल लोकतान्त्रिक पार्टी र राष्ट्रिय जनमोर्चा पार्टी रहेका छन्।

त्यसैगरी अन्तिम दिन सोमबार जनप्रिय लोकतान्त्रिक पार्टी र नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी–पुष्पलाल) ले समानुपातिक उम्मेदवारको बन्दसूची पेस गरेका छन्। आयोगका अधिकारीहरूका अनुसार अन्य दलहरू पनि बन्दसूची बुझाउने तयारीमा रहेका छन् र अपराह्नसम्म आयोग पुग्ने सम्भावना छ।

समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत दलहरूले संविधान तथा निर्वाचन कानुनअनुसार समावेशी प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने व्यवस्था छ। महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारू, मुस्लिम, पिछडिएको क्षेत्र तथा अन्य समूहको प्रतिनिधित्व मिलाएर बन्दसूची तयार गर्नुपर्ने आयोगको निर्देशन छ।

निर्वाचन आयोगले प्राप्त बन्दसूचीहरूको प्रारम्भिक परीक्षण गरी कानुनअनुसार भए–नभएको मूल्यांकन गर्ने जनाएको छ। मापदण्ड नपुगेका सूची सच्याउन दलहरूलाई समय दिइनेछ।

फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीअन्तर्गत निर्वाचन प्रक्रिया तीव्र रूपमा अघि बढिरहेको छ। आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन सबै तयारी सुदृढ बनाएको जनाएको छ।

प्रकाशित मिति: २०८२ पुष १५, सोमवार १३:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको