जनकपुरधाम , पुस १४ । विभिन्न २८ बुन्दे माग राख्दै चरणबद्ध आन्दोलन गर्दै आएको जनता समाजवादी पार्टी (जसपा) नेपालको विरोध सभा आज जनकपुरधाममा हुने भएको छ ।
विराटनगरबाट शुरु भएको वृहत विरोधसभा आज जनकपुरधाममा हुन लागेको हो । जनकपुरधामको एतिहासिक तिरहुतिया गाछीमा हुने विरोधसभाका लागि जसपा नेपालले एकसाता देखी तयारी शुरु गरेको हो ।
प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय निर्वाचन प्रणाली, पूर्ण समानुपातिक संसद, मधेश आन्दोलनको क्रममा भएको सहमति अनुसार हरेक क्षेत्रमा जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व, निर्वाचन क्षेत्रको निर्धारण सहितको मांग राख्दै जसपा नेपाल चरणबद्ध आन्दोलन गर्दै आएका छन ।
सप्तरी , सिरहा, धनुषा, महोत्तरी र सर्लाही सहित पाँच जिल्लाका नेता कार्यकर्ताहरु जनकपुरधामको विरोधसभामा सहभागी हुने आयोजकले जनाएका छ । मध्यान्ह १२ बजे देखी शुरु हुने विरोधसभाका लागि सम्पूर्ण तयारी पुरा भई रहेको सभा प्रचारप्रसार समितिका संयोजक जीतेन्द्र कुमार यादवले जनाएका छन ।
सभामा सहभागी हुन जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सहितका शीर्ष नेताहरु जनकपुरका लागि प्रस्थान गरि सकेको जनाइएको छ ।
यसैबीच हिजो अबेर राति सम्पन्न भएको जसपा नेपाल र लोसपा नेपालको एकीकरणको झल्को सभामा समेत दिने तयारी आयोजकहरुले गरेका छन । आजको विरोधसभामा लोसपाका स्थानीय नेताहरु समेत सहभागी हुने जनाइएको छ ।
हिजो अबेर राती मात्रै जसपा नेपाल र लोसपा नेपालबीच एकीकरण हुने सहमति पत्रमा दुबै दलका अध्यक्षले हस्ताक्षर गरेका छन । ई दुईदलको एकीकरणले मधेशको राजनीतिमा ठुलो प्रभाव पार्ने अनुृमान गरिएको छ ।




