नौ महिनापछि छोरा हत्याका आरोपमा आमा पक्राउ



सप्तरी, पुस १४ । आफ्नै नवालक छोरालाई विषादी सेवन गराई मारेको आरोपमा राजविराज नगरपालिका १ चनौरा पडरियाकी काजल कुमारी साफी नौ महिनापछि पक्राउ परेकी छिन् ।

बिषादी सेवन गराई ४ बर्षीय छोरा सोरभको हत्या गरेको आरोपमा २५ बर्षीय साफीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गाउँघरमै बसेको अवस्थामा आईतबार पक्राउ परेकी उनलाई सप्तरी जिल्ला अदालतबाट कर्तब्यज्यान कसुरमा ७ दिनको म्याद लिएर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिए ।

ससुरा मणीलाल साफीको जाहेरीले बादी नेपाल सरकार तथा प्रतिवादी काजल कुमारी साफी रहेको ज्यान कसुर मुद्दामा सप्तरी जिल्ला अदालतको २०८२ बैशाख १९ को आदेश तथा पक्राउ अनुमति समेत प्राप्त भएपछि उनलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक पुरीको भनाई छ ।

बिषादी सेवनबाट ४ बर्षीय सौरभको २०८२ बैशाख १५ गते उपचारको क्रममा मृत्यु भएको थियो । प्राप्त घट्ना विवरण अनुसार घरायसी विवादमा काजलले २०८२ बैशाख १४ गते राति ८ बजेतिर नाम नखुलेको किरा मार्ने विषादी आफु खाएर छोरा समेत लाई खुवाएका थिए ।

त्यसपछि परिवारजनले स्थानिय गजेन्द्रनाराण सिंह अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि दुबैजनालाई नोवेल अस्पताल विराटनगर पुर्याएका थिए । उपचारकै क्रममा भोलीपल्ट सौरभको मृत्यु भएको थियो । काजल भने केहीदिनको उपचारपछि घर फर्किएकी थिईन् ।

घट्नाका बेला उनका श्रीमान् अनिल भने बैदेशिक रोजगारीका शिलशिलामा कतारमा थिए । काजलले भने छोरालाई विषादी सेवन गराएको कुरा अस्वीकार गर्दै आएकी छन् । छोरा सौरभले घरमै राखिएको चामलमा किरा लाग्न नदिन प्रयोग गरिने विषादीयुक्त ट्यावलेटलाई हाजमोला पाचक ठानेर आफै खाएको उनको कथन छ । “विषादी खाएपछि छोरा जिवित नरहने ठानी आवेगमा आएर छोराको मुखमा रहेको केही ट्यावलेट आफूले पनि खाएको” उनको कथन छ ।

उनले यो घट्ना घर झगडाले नभई भुलबस मात्र हुन गएको दावी गर्दै आएकी छिन् । प्रहरीले भने यो कुरा अनुसन्धान टुङ्गिएपछि मात्र स्पष्ट हुने जनाएको छ ।

प्रकाशित मिति: २०८२ पुष १४, सोमबार १८:३४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको