काठमाडौँ , पुस १४ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक प्रणालीतर्फ सबै नयाँ अनुहारलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। पार्टीले यसअघिका निर्वाचनमा सांसद, राष्ट्रियसभा सदस्य वा मन्त्री भइसकेका कुनै पनि नेतालाई समानुपातिक बन्दसूचीमा नदोहोर्याउने स्पष्ट नीति लिएको छ।
नेकपाकी नेतृ रेखा शर्माका अनुसार अघिल्लो कार्यकालमा प्रतिनिधिसभा तथा राष्ट्रियसभामा सदस्य रहेका वा मन्त्रीको जिम्मेवारी सम्हालिसकेका व्यक्तिहरू यसपटक समानुपातिक सूचीमा समावेश हुने छैनन्। “यसअघि सांसद र मन्त्री भएका कसैलाई पनि समानुपातिक सूचीमा नराख्ने निर्णय गरिएको छ। यो नीति यसपटक मात्र होइन, हामीले अघिल्ला निर्वाचनहरूमा पनि अवलम्बन गर्दै आएका छौँ,” उनले बताइन्।
उनका अनुसार समानुपातिक बन्दसूची तयार पार्ने जिम्मेवारी पार्टीको शीर्ष नेतृत्वलाई दिइएको छ। निर्वाचन आयोगले निर्धारण गरेको क्लस्टर प्रणालीअनुसार महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारू, मुस्लिम तथा पिछडिएको क्षेत्रलगायत समूहको समावेशी प्रतिनिधित्व सुनिश्चित गर्दै सूचीलाई अन्तिम रूप दिने काम भइरहेको छ।
नेकपाको यो निर्णयलाई पार्टीभित्र नयाँ नेतृत्व विकास र अवसरको समान वितरणतर्फको कदमका रूपमा हेरिएको छ। लामो समयदेखि राजनीतिमा सक्रिय रहे पनि अवसर नपाएका कार्यकर्ता तथा नयाँ पुस्तालाई अघि बढाउने उद्देश्यले यस्तो नीति लिइएको नेताहरूको भनाइ छ।
राजनीतिक विश्लेषकहरूका अनुसार समानुपातिक सूचीमा नयाँ अनुहार मात्र समावेश गर्ने नेकपाको निर्णयले पार्टीको छवि परिवर्तन गर्न र जनतामाझ नयाँ सन्देश दिन सहयोग पुग्न सक्छ। यद्यपि अनुभवी नेताहरू सूचीमा नपर्दा संसदीय अनुभवको कमी हुन सक्ने चुनौती पनि देखिएको छ।
यसैबीच प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक बन्दसूची बुझाउने समयसीमा नजिकिँदै जाँदा सबै राजनीतिक दलहरू सूची अन्तिम रूप दिन आन्तरिक छलफलमा जुटिरहेका छन्।




