काठमाडौँ, पुस १४ । सोमबार सेयर बजार १०.५३ अंकले घटेर २६२२.८८ बिन्दुमा ओर्लिएको छ। यसदिन बजारमा ३३७ धितोपत्रको ६९ हजार ५ सय ४८ कारोबारबाट १ करोड ३७ हजार ३ सय ७ कित्ता सेयर किनबेच भएको छ।
बजारमा ०.८८ प्रतिशतको गिरावट देखिएको छ। विकास बैंक र म्युचुअल फन्ड बाहेक सबै उपसूचकको मूल्य घटेको छ। सबैभन्दा धेरै ‘अन्य’ उपसूचकका लगानीकर्ताले ०.८२ प्रतिशत घाटा व्यहोरेका छन्।
आज कारोबार रकम ४ अर्ब ७७ करोड ४७ लाख ८६ हजार ३४ रुपैयाँमा सीमित भएको छ। आइतबार बजार ४७ अंकले बढेको र ५ अर्ब ५३ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो।
सोमबार सबैभन्दा धेरै मूल्य वृद्धी एसवाई प्यानल नेपाल लिमिटेडको सेयरमा देखियो। यस धितोपत्रको मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ८ सय ८० रुपैयाँ पुगेको छ। यसका साथै ग्लोबल आइएमई समुन्नत योजना-२, कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, सप्तकोशी विकास बैंक र ग्रिन डेभलपमेन्ट बैंकका धितोपत्रको मूल्य पनि उल्लेखनीय रूपमा बढेको छ।
उता, सबैभन्दा धेरै घाटा विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले व्यहोरे। यस धितोपत्रको मूल्य १० प्रतिशतले गिरावट भई १४९६.१० रुपैयाँमा कायम भएको छ। सुपर मादी हाइड्रो, मानुषी लघुवित्त वित्तीय संस्था, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र एनआईसी एसिया बैंकका धितोपत्रमा पनि बजारमा गिरावट आएको छ।
विश्लेषकहरूका अनुसार सोमबारको ‘करेक्सन’ बजारको प्राकृतिक उतार–चढावको परिणाम हो। बजारमा बढी उछाल आएको दिनपछि लगानीकर्ताले केही लाभ सुरक्षित गर्न सेयर बिक्री गरेका कारण मूल्यमा गिरावट आएको देखिन्छ।




