काठमाडौँ, पुस १४ । जनता समाजवादी पार्टी(जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच आइतबार भएको एकताले मधेस प्रदेश सभाको दलीय समीकरणमा ठूलो परिवर्तन ल्याएको छ।
यस एकताको परिणामस्वरूप मधेस प्रदेश सभामा अब नेकपा एमाले सबैभन्दा ठूलो दल रहने छैन। १०७ सदस्यीय प्रदेश सभामा जसपा नेपालका १९ र लोसपा नेपालका ९ सांसद छन्। यी दुई दलको एकतापछि कुल २८ सांसद भएको एकीकृत पार्टी प्रदेश सभाको सबैभन्दा ठुलो दल बन्नेछ।
यसअघि एमाले २५ सांसदसहित प्रदेश सभाको ठुलो दलको हैसियतमा थियो। अब एमाले दोस्रो ठुलो दल हुनेछ भने नेपाली कांग्रेस २२ सांसदसहित तेस्रो स्थानमा रहनेछ।
यस्तै, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले पनि एकता गरेर नेपाली कम्युनिस्ट पार्टी गठन गरिसकेका छन्। यद्यपि, प्रदेश सभामा यी दलले संसदीय दलको एकीकरण भने अझै पूरा गरेको छैन। संसदीय दल एकीकरण भएपछि नेपाली कम्युनिस्ट पार्टीको कुल सांसद संख्या १६ पुगेको देखिन्छ, जसले प्रदेश सभामा चौथो ठुलो राजनीतिक शक्ति बन्नेछ।
जनमत पार्टीको स्थिति पनि प्रभावित हुनेछ। हाल १३ सांसदसहित चौथो स्थानमा रहेको जनमत पार्टी अब जसपा–लोसपा र नेपाली कम्युनिस्ट पार्टीको एकीकरणपछि पाँचौँ स्थानमा झर्नेछ।
प्रदेश सभामा अन्य दलका प्रतिनिधिहरूमा नेपाल संघीय समाजवादी पार्टीका १, नागरिक उन्मुक्ति पार्टीका १ र राष्ट्रिय प्रजातन्त्र पार्टीका १ सांसद रहेका छन्।
राजनीतिक विश्लेषकहरूले जसपा नेपाल र लोसपा नेपालको एकताले मधेस प्रदेशको राजनीतिक नक्शामा महत्वपूर्ण प्रभाव पार्ने बताएका छन्। यसले आगामी चुनाव र विधायिका सञ्चालनमा पनि नयाँ समीकरण सिर्जना गर्ने देखिन्छ।






