रास्वपाले उज्यालो नेपाललाई १५ प्रतिशतमा सीमित गरेपछि एकता टुङ्गिन सकेन



काठमाडौँ, पुस १४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौँ महानगरपालिका र उज्यालो नेपाल पार्टीबीच भएको सात घण्टे वार्ता निष्कर्षविहीन भएको छ। वार्ताको अन्त्यसम्म कुनै सहमति नजुटेपछि दुई पार्टीबीचको सम्भावित एकता टुङ्गिन सकेको छैन।

वार्तामा उज्यालो नेपाल पार्टीले उपसभापतिसहित पार्टीमा ३० प्रतिशतसम्मको भागबन्डाको माग राखेको थियो। तर रास्वपाले उज्यालो नेपाललाई १५ प्रतिशतभन्दा बढी भाग दिन नसक्ने अडान राखेपछि वार्ता निष्कर्षमा पुग्न सकेको स्रोतले जनाएको छ।

उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले पार्टीको अस्तित्व र सम्मानजनक सहभागिता सुनिश्चित बिना कुनै पनि किसिमको एकता गर्न नसकिने स्पष्ट पारेका छन्। “हामीले उपसभापतिसहितको सम्मानजनक स्थानको माग गरेका थियौँ, तर उनीहरूले १५ प्रतिशतमा सीमित गर्न खोजे। त्यसकारण हालको अवस्थामा एकताको वातावरण निर्माण हुन सकेन। अब हामी आफ्नै ढंगले अघि बढ्नेछौँ। तर कार्यगत एकताको लागि बाटो खुला छ,” उनले भने।

यसैबीच, रास्वपासँग पार्टी एकता नहुने अवस्था भएपछि उज्यालो नेपाल पार्टीले समानुपातिकतर्फको बन्दसूची तयार गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको जानकारी दिएको छ। पार्टीले साँझ ६ बजेसम्मको समयसीमाभित्र आयोगमा सूची बुझाउने तयारी गरिरहेको छ।

विश्लेषकहरूका अनुसार वार्तामा असहमति रहँदा उज्यालो नेपाल र रास्वपाबीचको राजनीतिक समीकरण आगामी निर्वाचनमा मधेश क्षेत्रको मतधारणमा महत्वपूर्ण प्रभाव पार्न सक्छ। पार्टीले स्वतन्त्र रूपमा अगाडि बढ्ने निर्णय गरेसँगै मधेशको राजनीतिक मैदानमा नयाँ रणनीति र प्रतिस्पर्धाको संभावना बलियो भएको छ।

प्रकाशित मिति: २०८२ पुष १५, सोमवार १३:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको