काठमाडौं , पुस १५ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ६४ वटा राजनीतिक दलले समानुपातिक प्रणालीतर्फ उम्मेदवारी दिएका छन्। निर्वाचन आयोगका अनुसार तीमध्ये १८ वटा दलले मात्र सबै ११० सिटका लागि पूर्ण उम्मेदवारी सूची बुझाएका छन् भने बाँकी दलहरूले सीमित सिटमा मात्र उम्मेदवारी दर्ता गराएका छन्।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार ५४ वटा दल आ–आफ्नै चुनाव चिह्नमा र १० वटा दल चार फरक चुनाव चिह्नमार्फत चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। यसअनुसार समानुपातिकतर्फको मतपत्रमा कुल ५८ वटा चुनाव चिह्न रहनेछन्।
२७५ सदस्यीय प्रतिनिधिसभामध्ये १६५ जना प्रत्यक्ष निर्वाचनबाट र ११० जना समानुपातिक प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ। समानुपातिकतर्फ उम्मेदवारी दिने दलहरूले कम्तीमा ११ र बढीमा ११० जनासम्मको बन्दसूची बुझाउन सक्ने प्रावधान छ। तर अधिकांश दलले अधिकतमभन्दा कम सिटमा मात्र उम्मेदवारी दिएका छन्।
नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी नेपाललगायत १८ दलले आफ्नै चुनाव चिह्नमा सबै ११० सिटका लागि उम्मेदवारी दिएका छन्।
समानुपातिक सूचीमा सातवटा क्लस्टर निर्धारण गरिएको छ, जसअनुसार आदिवासी जनजाति, खस आर्य, थारु, दलित, मधेशी, मुस्लिम र पिछडिएको क्षेत्रबाट उम्मेदवार चयन गर्नुपर्छ। साथै, कम्तीमा ५० प्रतिशत महिला उम्मेदवार अनिवार्य गरिएको छ।
न्यूनतम ११ जनाको नाम मात्र बुझाउने दलको संख्या ६ रहेको छ। ती दलहरूले समय अभाव, क्लस्टर मिलानको कठिनाइ र चुनावी पूर्वानुमानका आधारमा सीमित उम्मेदवारी दिएको बताएका छन्।
निर्वाचन आयोगले एकपटक बुझाइएको बन्दसूचीमा पछि नाम थप्न नमिल्ने स्पष्ट पारेको छ। आयोगका अनुसार कम उम्मेदवारी दिएका दलले बढी सिट जित्ने अवस्था अहिलेसम्म देखिएको छैन।
समानुपातिक उम्मेदवारीको तथ्यांकले यस निर्वाचनमा ठूला दलको दबदबा कायम रहने संकेत गरेको छ भने साना दलहरू सीमित सम्भावनासहित प्रतिस्पर्धामा उत्रिएका देखिन्छन्।




