काठमाडौं, पुस १५ । नेपाली कांग्रेसले प्रतिनिधि सभातर्फको समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलसहितको टोलीले आज बिहान साढे ११ बजे आयोगमा ११० जनाको उम्मेदवार सूची दर्ता गराएको हो ।
कांग्रेसले हिजै आयोगबाट निस्सा लिएको भए पनि आज मात्रै औपचारिक रूपमा समानुपातिक उम्मेदवार सूची बुझाएको जनाएको छ । पार्टीले यसपटक समानुपातिकतर्फ नयाँ अनुहारलाई प्राथमिकता दिएको दाबी गरेको छ ।
कांग्रेसले २०६४ देखि २०७९ सम्म समानुपातिकमार्फत अवसर पाइसकेकाहरूलाई पुनः उम्मेदवार नबनाउने निर्णय गरेको थियो । सो निर्णयअनुसार यसपटक पुराना अनुहारभन्दा नयाँ र सक्रिय कार्यकर्तालाई सूचीमा समावेश गरिएको पार्टीको भनाइ छ ।
पार्टीका १४ जना पदाधिकारीमध्ये सहमहामन्त्री भीष्मराज आङ्देम्बे मात्रै समानुपातिक उम्मेदवार सूचीमा परेका छन् । यस्तै, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी पनि समानुपातिक उम्मेदवारका रूपमा सूचीकृत छन् । उनी नुवाकोटबाट समानुपातिकतर्फ सिफारिसमा परेका थिए ।
कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार पार्टीभित्र लामो समयदेखि संगठन निर्माणमा सक्रिय नयाँ पुस्तालाई अवसर दिने उद्देश्यले सूची तयार गरिएको हो । “३५ वर्ष उमेरमुनिका १५ जना उम्मेदवार सूचीमा छन्,” उनले बताए ।
नेविसंघ, तरुण दललगायत भ्रातृ संगठनमा काम गर्दै आएका युवाहरूलाई पनि समानुपातिक उम्मेदवार बनाइएको कांग्रेसको भनाइ छ । पार्टीले समावेशी प्रतिनिधित्व, पुस्तान्तरण र संगठन सुदृढीकरणलाई ध्यानमा राख्दै समानुपातिक सूची तयार गरेको जनाएको छ ।
कांग्रेसको समानुपातिक उम्मेदवार सूचीलाई पार्टीभित्र नयाँ नेतृत्व विकासतर्फको कदमका रूपमा हेरिएको छ ।




