कांग्रेसले ढिला गर्दै बुझायो समानुपातिक बन्दसूची



काठमाडौं, पुस  १५ । नेपाली कांग्रेसले आशन्न प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । सभापति शेरबहादुर देउवाको डिजिटल हस्ताक्षरलाई आयोगले तत्काल मान्यता नदिँदा पार्टीले मंगलबार ढिलो गरी सूची बुझाएको हो ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलको नेतृत्वमा कांग्रेसको टोलीले मंगलबार साढे ११ बजेपछि आयोगमा ११० जनाको नाम पेश गरेको स्रोतहरूले जनाएको छ । निर्वाचन आयोगले दलहरूलाई पुस १३ र १४ गतेसम्म समानुपातिक उम्मेदवार सूची बुझाउन समयसीमा दिएको थियो ।

कांग्रेसले आफ्नो बन्दसूची तयार पार्दा २०६४ देखि समानुपातिक सांसद भएर अवसर पाइसकेकाहरूलाई समावेश गरेको छैन । यसैगरी, पार्टीले नयाँ अनुहारलाई प्राथमिकता दिएको र समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न प्रयास गरेको बताइएको छ ।

भौगोलिक रूपमा बन्दसूचीमा कोसी प्रदेशबाट १८, मधेश प्रदेशबाट २१, बागमती प्रदेशबाट २२, गण्डकी प्रदेशबाट ११, लुम्बिनी प्रदेशबाट १७, कर्णाली प्रदेशबाट १० र सुदूरपश्चिम प्रदेशबाट १० उम्मेदवार समावेश गरिएको छ ।

पार्टीका पदाधिकारीहरूमा केवल सहमहामन्त्री भीष्मराज आङ्देम्बे मात्रै समानुपातिक सूचीमा परेका छन् । यस सूचीमा नेविसंघ, तरुण दल लगायतका भ्रातृ संगठनमा सक्रिय युवा कार्यकर्तालाई पनि अवसर दिइएको छ ।

कांग्रेसले यस पटकको समानुपातिक बन्दसूचीमार्फत नयाँ पुस्तालाई अघि ल्याउने, संगठन सुदृढ पार्ने र समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्य राखेको जनाएको छ ।

प्रकाशित मिति: २०८२ पुष १६, मंगलवार १३:२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको