विपन्न महिलालाई सीपसँगै सामग्री, साइकलदेखि माछासम्म हस्तान्तरण



सप्तरी, १५ पौष । अति पिछिडिएका सदा समुदायका विपन्न महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले आवश्यक तालिम सहित सामग्री वितरण गरिएको छ ।

सेभ द चिल्ड्रेनको सहयोगमा जनचेतना अभियान नेपालले मंगलवार सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा १ र ४ का सदा समुदायका २० जना महिलालाई तालिम सहित सामग्री वितरण गरेको हो ।

संस्थाले यस अघि सेभ द चिल्ड्रेनको साझेदारी तथा हनुमाननगर कंकालिनी नगरपालिकाको समन्वयमा सदा समुदायका विपन्न महिलाहरुलाई समेटी सात दिने साना उद्यम विकास सम्बन्धी तालिम प्रदान गरेको थियो । तालिममा सहभागी भएका मध्येबाट छनौट भएका ६ जना तरकारी व्यवसायी, ५ जना माछा व्यवसायी, ३÷३ जना किराना र अण्डा व्यवसायी, २ जना कस्मेटिक व्यवसायी र १ जना हाँस कुखुरा पालक व्यवसायी गरी २० जना महिला व्यवसायीलाई सामग्री वितरण गरेको जनचेतना अभियान नेपालका कार्यकारी निर्देशक जुही ठाकुरले जानकारी दिइन् ।

त्यसमध्ये गाउँघरमा डुलेर स–साना व्यापार व्यवसाय गर्ने १३ जना महिलाले साइकल समेत प्राप्त गरेकी छिन् । तालिममा सहभागी भई सीप प्राप्त गरेपछि उनीहरुले रोजेको व्यापार, व्यवसाय अनुसारकै जनही ३० हजार मूल्य बराबरको सरसमान खरिद गरी प्रदान गरिएको जनचेतना अभियान नेपाल सप्तरीका अध्यक्ष तरुण कुमार साहले जानकारी दिए ।

संस्थाको समुन्नती परियोजना अन्तर्गत संचालित तालिममा सहभागी भएर तरकारी व्यवसाय रोजेकी सबिता देवी सदाले आफुले ढक, तराजु र साइकल सहित ३० हजार मुल्य बराबरको तरकारी प्राप्त गरेको भन्दै अब व्यापार गर्न सहज भएको बताइन् ।

यस्तै ३० किलो माछा, ढक, तराजु र साइकल प्राप्त गरे पछि बिनिता सदा पनि दंग भईन् । उनले सीप र ज्ञानसँगै साधनस्रोत समेत पाए पछि अब सानो तिनो गर्जो टार्न र परिवार चलाउन अरुसँग हात फैलाउने दिन हट्ने विश्वास व्यक्त गरिन् ।

प्रमुख अतिथी हनुमाननगर कंकालिनी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र माझी तथा आयोजक संस्थाका पदाधिकारीहरुले उक्त सामग्री हस्तान्तरण गरेका थिए । विपन्न महिलालाई आर्थिक उर्पाजनमा सहयोग पु¥याउन तालिम सहित सामग्री प्रदान गरिएको र यस्ता कार्यक्रमलाई थप वडा र पालिकामा विस्तार गर्ने योजना रहेको संस्थाका अध्यक्ष साहले बताए ।

सात दिन अघि पनि सो संस्थाले विद्यालयमा पहुँच बढाउन सदा समुदायका १ सय ४५ जना बालबालिकालाई झोला सहित शैक्षिक सामग्री वितरण गरेको थियो ।

प्रकाशित मिति: २०८२ पुष १६, मंगलवार १७:५४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको