धरान बनाउने एजेन्डाबाट प्रतिनिधिसभातर्फ मोडिँदै हर्क साम्पाङ



विराटनगर, पुस  १५ । स्वतन्त्र उम्मेदवारका रूपमा ‘लौरो’ चुनाव चिह्न लिएर धरान नगर प्रमुखमा निर्वाचित भएका हर्कराज राई (हर्क साम्पाङ) ले चुनावका बेला विकास, सुशासन र भ्रष्टाचारमुक्त धरानको २७ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका थिए। खानेपानीको स्थायी समाधान उनको मुख्य चुनावी एजेन्डा थियो। तर कार्यकाल आधाभन्दा बढी बितिसक्दा पनि प्रतिबद्धता पूरा नभएको भन्दै उनीमाथि धरानमै आलोचना बढ्न थालेको छ।

आलोचकहरूका अनुसार साम्पाङको ध्यान अहिले धरानको दैनिकीभन्दा प्रतिनिधिसभा निर्वाचनतर्फ केन्द्रित भएको देखिन्छ। उनले श्रम संस्कृति पार्टी गठन गरी संघीय संसद् प्रवेशको तयारी थालेपछि स्थानीय शासनप्रति उनको प्राथमिकता कमजोर हुँदै गएको आरोप लाग्दै आएको छ।

खानेपानी समस्याको समाधानका लागि सप्तकोशीबाट पानी ल्याउने योजना अघि सारिए पनि खर्च र उपलब्धिको अनुपात नमिलेको अभियन्ताहरूको भनाइ छ। सामाजिक अभियन्ता महेश श्रेष्ठका अनुसार करोडौँ खर्च गर्दा पनि अपेक्षित परिणाम नआएको र ‘श्रमदान’ अभियान प्रचारमुखी बनेको छ। खानेपानी बोर्डको अध्यक्ष भएर पनि नियमित बैठक नबोलाएको र पारदर्शिता नदेखाएको आरोप पनि छ।

साम्पाङले वैज्ञानिक कर प्रणाली लागू गर्ने घोषणा गरे पनि कर दर २०० देखि ४०० प्रतिशतसम्म बढाइएको भन्दै जनस्तरबाट असन्तुष्टि व्यक्त भइरहेको छ। कर वृद्धिविरुद्ध धरानमा आन्दोलनसमेत भएको थियो। उद्योग र रोजगारी सिर्जनाको नाममा सुरु गरिएका साबुन र बेसार उद्योग पनि प्रभावकारी हुन नसकेको आरोप छ।

प्रशासनिक हिसाबले पनि धरान नगरपालिकाले समयमै बजेट ल्याउन नसकेको तथ्य सार्वजनिक भएको छ। पछिल्ला दुई आर्थिक वर्षमा कानुनी समयसीमा नाघेर बजेट पारित भएको छ। पुँजीगत खर्चको अवस्था कमजोर रहेको र असारे विकास बढेको महालेखा परीक्षकको प्रतिवेदनले देखाएको छ।

स्थानीय समस्याहरू—लागुऔषध, सुकुमबासी, सडक मानव र बाँदर नियन्त्रण—जस्ताको तस्तै रहेको भन्दै आलोचकहरूले मेयर साम्पाङ धरान बनाउनेभन्दा राजनीतिक भविष्य निर्माणमा बढी केन्द्रित भएको टिप्पणी गरेका छन्।

प्रकाशित मिति: २०८२ पुष १६, मंगलवार १७:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको