विराटनगर, पुस १५ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा) बीच सोमबार भएको सात बुँदे सहमतिमा पार्टी एकता भयो। तर, पूर्वी नेपालका पहिचानवादी नेता डकेन्द्रसिंह थेगिम र डा। महेन्द्र लावती यस एकताप्रति असन्तुष्ट देखिएका छन्।
एकतामा राजनीतिक मुद्दा समावेश नभएको हुँदा उनीहरू अलमलमा परेको स्रोतले जनाएको छ। सहमतिअनुसार उज्यालो नेपालका संरक्षक कुलमान घिसिङलाई रास्वपाको उपसभापति बनाइने भएको छ भने लावतीको नाम समानुपातिक उम्मेदवार सूचीमा राखिएको छ। तर, लावतीले आफूलाई सल्लाह बिना नाम समावेश गरिएको भन्दै असन्तुष्टि जनाएका छन्।
पहिचानवादी नेताहरूको भनाइ अनुसार, रास्वपा पहिचान विरोधी पार्टी हो र यसले उज्यालो नेपालको मूल एजेन्डा—संघीयता, गणतन्त्र, बहुसांस्कृतिकता र धर्मनिरपेक्षता—प्रति संवेदनशील छैन। थेगिमले भने, “कुलमानजीले आफ्नो अस्तित्व र पहिचान मेटेर कसरी मिल्न सकिन्छ भन्ने विषयलाई ध्यानमा राखेर आए, तर राजनीतिक मुद्दा छाडेर एकता गर्दा गम्भीर प्रश्न उठ्छ।”
पूर्वी नेपालमा पहिचानको आन्दोलन कमजोर भइरहेकाले रास्वपा(उनेपाको एकतापछि नेता थिएगिम र लावती बिलखबन्दमा परेको उल्लेख गरिएको छ। लावतीले भने, “पार्टी एकता केवल चुनावी गठबन्धन वा सहकार्यको लागि हुँदैन। मूल मुद्दाहरूको ग्यारेन्टी भए मात्र दिगो एकता सम्भव छ। हामी सांसद पदको लोभमा होइनौं, मुद्दाका लागि हिँडिरहेका छौं।”
अध्यक्ष कुलमान घिसिङ र रास्वपा नेतृत्वले राजनीतिक मुद्दा घोषणापत्रमा समावेश गर्ने आश्वासन दिएका छन्। तर, पूर्वी नेपालका पहिचानवादी नेताहरू भने यसको परिणाम र प्रभावबारे अझै पर्खिरहेका छन्।




