जेन–जी सहिद रसिक खतिवडाकी आमा रचना खतिवडा रास्वपाको समानुपातिक सूचीमा



काठमाडौं, पुस  १५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेन–जी आन्दोलनका सहिद रसिक खतिवडाकी आमा रचना खतिवडालाई समानुपातिक सांसदको बन्दसूचीमा समेटेको छ । रास्वपाले खस–आर्य महिला क्लस्टरअन्तर्गत रचनालाई नवौँ नम्बरमा राखेको हो ।

उक्त क्लस्टरमा प्रतिभा रावल पहिलो नम्बरमा रहेकी छन् । त्यसपछि विदुषी राणा, लिमा अधिकारी(आचार्य), श्रद्धा कुँवर, समीक्षा बास्कोटा, टीका संग्रौला, क्रान्तिशिखा धिताल र मञ्जु भुसालको नाम सूचीकृत छ । रचनाले पनि आफ्नो नाम समानुपातिक सूचीमा परेको पुष्टि गरेकी छन् ।

रचनाका अनुसार केही समयअघि रास्वपा सभापति रवि लामिछानेले भेटेरै छोराको न्यायका लागि राजनीतिमा आउन आग्रह गरेका थिए । “छोराको न्यायका लागि तपाईं संसदमा पुग्नुपर्छ भन्नुभयो,” रचनाले भनिन् ।

रसिक खतिवडा काभ्रेका २२ वर्षीय युवक हुन् । गत भदौ २३ गते जेन–जी आन्दोलनमा सहभागी हुन गएका उनी साँझसम्म घर नफर्किएपछि परिवार चिन्तित बनेको थियो । पछि सामाजिक सञ्जालमा फैलिएको भिडिओमार्फत उनी गम्भीर घाइते अवस्थामा रहेको थाहा भएको थियो । विभिन्न अस्पताल डुल्दै खोज्दा अन्ततः टिचिङ अस्पतालको शवगृहमा रसिकको शव भेटिएको थियो । उनको छाती र पेटमा गोली लागेको पाइएको थियो ।

छोराको मृत्युपछि रचना खतिवडाले दोषीलाई कारबाही गर्न माग गर्दै निरन्तर आवाज उठाउँदै आएकी छन् । न्याय नपाएसम्म शव नउठाउने अडानसहित आन्दोलनसमेत गरिएको थियो । सरकारबाट सहिद घोषणा र क्षतिपूर्ति दिइए पनि दोषीमाथि कारबाही नभएको उनको गुनासो छ ।

“मेरो छोराले परिवर्तनका लागि ज्यान दियो । न्यायका लागि म अन्तिम साससम्म लडिरहन्छु,” रचनाले भनिन् ।

प्रकाशित मिति: २०८२ पुष १६, मंगलवार ११:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको