जनकपुरधाम, पुस १५ । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षको स्वागतका रूपमा आज देशभर तमु ल्होसार पर्व भव्य रूपमा मनाइरहेका छन्। ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष परिवर्तन हुने दिनलाई तमु ल्होसार भनिन्छ। गुरुङ समुदायले यस पर्वलाई नयाँ वर्षका रूपमा विशेष महत्त्वका साथ मनाउने परम्परा रहेको छ।
तमु ल्होसार सूर्यको किरण र प्राकृतिक चक्रसँग सम्बन्धित पर्व मानिन्छ। गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतका जिल्लामा सूर्यको ताप चाँडो पुग्ने भएकाले पुस महिनामा यो पर्व मनाइने गरिएको विश्वास छ। त्यसपछि क्रमशः तामाङ र शेर्पा समुदायको बसोबास रहेका क्षेत्रमा सूर्यको ताप ढिलो पुग्ने भएकाले माघ र फागुन महिनामा ल्होसार मनाइने प्रचलन रहेको जानकारहरू बताउँछन्।
पुस १५ गतेको रात वर्षकै सबैभन्दा लामो हुने र यसपछि रात छोटिँदै जाने भएकाले पनि तमु ल्होसारको विशेष महत्त्व रहेको छ। यही अवसरमा नेपाल सरकारले आज सार्वजनिक बिदा दिएको छ।
तमु ल्होसारको अवसरमा राजधानी काठमाडौँको टुँडिखेलमा गुरुङ समुदायले विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरेका छन्। कार्यक्रममा गुरुङ समुदायका पुरुष तथा महिला परम्परागत भेषभूषामा सजिएर सहभागी भएका छन्। गुरुङ संस्कृति झल्काउने मौलिक नृत्य, गीत तथा सांस्कृतिक झाँकीले महोत्सवलाई थप आकर्षक बनाएको छ।
ल्होसार अवसरमा गुरुङ समुदायका परिकारहरूको विशेष प्रदर्शनीसमेत गरिएको छ। आइतबारदेखि सुरु भएको ल्होसार महोत्सवमा राजधानीसहित देशका विभिन्न स्थानबाट हजारौँ सर्वसाधारणको सहभागिता रहेको छ। यस पर्वले गुरुङ समुदायको मौलिक संस्कृति, परम्परा र पहिचान संरक्षण तथा प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ।






