बुटवल, पुस १५ । शीतलहरका कारण सडक चिप्लो बनेपछि पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्ने खण्डमा यातायात सेवा १५ घण्टादेखि पूर्णरूपमा अवरुद्ध भएको छ । दाउन्ने खण्डको उकालो र ओरालो भागमा शीतलहरले सडक भिज्दा सवारी साधन चिप्लिएर अगाडि बढ्न नसकेपछि यातायात ठप्प भएको हो ।
इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रहरी नायब निरीक्षक ज्ञानप्रसाद काफ्लेका अनुसार अत्यधिक चिसो र कुहिरोका कारण सडक सतह भिजेको हुँदा ठूला तथा साना सवारी साधन सञ्चालन गर्न असम्भव बनेको छ । “गाडी चिप्लिएर उकालो चढ्न नसक्ने र ओरालोमा नियन्त्रण गुम्ने अवस्था आएपछि सुरक्षाका कारण यातायात रोकिन पुगेको हो,” काफ्लेले बताए ।
सडक अवरुद्ध भएपछि बर्दघाट र दुम्कीबासतर्फ सयौँ सवारी साधन लामबद्ध भएका छन् । लामो जामका कारण यात्रुहरू अलपत्र परेका छन् भने खाद्यान्न, इन्धन र अन्य सामग्री बोकेका मालवाहक सवारी साधन पनि बाटोमै रोकिएका छन् ।
काठमाडौंबाट बुटवलतर्फ आउँदै गरेका यात्रु विनोद परियारले आफू १४ घण्टादेखि दाउन्ने क्षेत्रमा जाममा फसेको बताए । “चिसो अत्यधिक छ, खानेपानी र शौचालयको समस्या छ, साना बालबालिका र वृद्ध यात्रुहरूलाई झन् कठिनाइ भइरहेको छ,” उनले गुनासो गरे ।
निर्माणाधीन बुटवल–नारायणगढ सडकखण्डअन्तर्गत अन्य स्थानमा सवारी आवागमन सहज भए पनि दाउन्ने खण्डमा अझै निर्माण कार्य बाँकी रहेकाले समस्या दोहोरिँदै आएको छ । प्रहरीका अनुसार शीतलहर कम भई सडक सुक्नासाथ यातायात पुनः सञ्चालन गरिनेछ ।यसैबीच, प्रहरीले अत्यावश्यक बाहेकका यात्रालाई केही समय स्थगित गर्न तथा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।




