धनगढी , पुस १६ । प्रतिनिधिसभा निर्वाचनका लागि मुख्य चार दलले समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेश गरेका छन्। सूचीअनुसार सुदूरपश्चिम प्रदेशबाट कुल ४२ जना उम्मेदवार परेका छन्। सबैभन्दा बढी नेपाली कांग्रेसले ११ जना उम्मेदवार समावेश गरेको छ। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले समानुपातिक सूचीमा क्रमशः १०–१० जना राखेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुदूरपश्चिमबाट दुई जनालाई मात्र समेटेको छ।
नेपाली कांग्रेसले सुदूरपश्चिमका नौवटै जिल्लाबाट उम्मेदवार बनाएको छ। कैलालीबाट यज्ञनिधि कोइराला र रिता चौधरी, दार्चुलाबाट करवीर कार्की, बैतडीबाट दीपेन्द्र बम, बाजुराबाट विद्या तिमल्सिना, डोटीबाट प्रसिस महरा, कञ्चनपुरबाट कल्पना केसी र तौला राना, अछामबाट टेकबहादुर बिक, बझाङबाट सुन्दर स्नेही र डडेल्धुराबाट हरिना कामी सूचीमा परेका छन्।
नेकपा एमालेको सूचीमा कैलालीबाट लीला भण्डारी, हरिशंकर योगी, इच्छा चौधरी र सावित्रा घिमिरे, कञ्चनपुरबाट निरूदेवी पाल र कृपाराम राना, बझाङबाट एलबी रावल र भागरथी चन्द सिंह, अछामबाट बमबहादुर बिसी र दार्चुलाबाट जयेन्द्र सिंह ऐतवालको नाम रहेको छ।
नेपाली कम्युनिस्ट पार्टीको सूचीमा कञ्चनपुर र कैलालीबाट तीन–तीन, अछामबाट दुई र बाजुरा तथा डोटीबाट एक–एक उम्मेदवार समावेश गरिएको छ। कैलालीबाट प्रेम बयक, कमला ज्ञवाली र गणेश विक, कञ्चनपुरबाट निराशा चौधरी, बीरबहादुर बुढाथोकी र रामअवतार थारु राना रहेका छन्।
रास्वपा (राष्ट्रिय स्वतन्त्र पार्टी)को प्राथमिकतामा सुदूरपश्चिम कम समेटिएको देखिन्छ। कञ्चनपुरबाट खसआर्य महिलाबाट प्रतिभा रावल र थारु पुरुष क्लस्टरबाट सोमप्रसाद चौधरी सूचीमा परेका छन्। तर दलिततर्फ सबैभन्दा बढी मत पाएका विजय जैरुको नाम सूचीमा छैन।
यस सूची अनुसार कांग्रेसले सुदूरपश्चिमका सबै जिल्लालाई समानुपातिक प्रतिनिधित्वमा समेटेर व्यापक राजनीतिक पहुँच सुनिश्चित गरेको छ।




