काठमाडौं, पुस १६ । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा सर्वपक्षीय राष्ट्रिय संवाद सुरु भएको छ। ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयमा आयोजित उक्त संवाद कार्यक्रम नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजनामा काठमाडौंमा सुरु भएको हो।
कार्यक्रमको उद्देश्य मुलुकमा शान्ति र सुव्यवस्था कायम गर्नुका साथै लगानीमैत्री वातावरण निर्माण गर्दै निजी क्षेत्रको मनोबल उच्च राख्नु रहेको महासङ्घले जनाएको छ। यसका लागि महासङ्घले पछिल्लो समय सरकार, राजनीतिक दल, निजी क्षेत्र र सरोकारवालाबीच निरन्तर छलफल तथा अन्तर्क्रिया गर्दै आएको छ।
सर्वपक्षीय संवाद कार्यक्रममा प्रधानमन्त्री कार्कीसँगै सरकारका मन्त्रीहरू, प्रमुख राजनीतिक दलका नेताहरू, निजी क्षेत्रका प्रतिनिधि तथा युवा पुस्ताको उल्लेखनीय सहभागिता रहेको छ। सहभागीहरूले मुलुकको वर्तमान राजनीतिक, आर्थिक तथा सामाजिक अवस्थाबारे धारणा राख्दै सहकार्य र सहमतिको आवश्यकता औंल्याएका छन्।
कार्यक्रममा राजनीतिक स्थायित्व, निजी क्षेत्रको भूमिका, रोजगारी सिर्जना, लगानी प्रवर्द्धन र समावेशी आर्थिक विकासका विषयमा केन्द्रित रहेर छलफल भइरहेको छ। सहभागी वक्ताहरूले राजनीतिक अस्थिरतिले अर्थतन्त्रमा नकारात्मक प्रभाव पारेको उल्लेख गर्दै संवाद र सहकार्यमार्फत समाधान खोज्नुपर्नेमा जोड दिएका छन्।
महासङ्घका अनुसार यस प्रकारका संवाद कार्यक्रमले सरकार र निजी क्षेत्रबीच विश्वासको वातावरण निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। संवादबाट निस्कने निष्कर्ष तथा सुझावहरू आगामी नीति निर्माणमा उपयोगी हुने विश्वास आयोजकको छ।




