प्रदेशका सांसद र स्थानीय तहका पदाधिकारीले भोट हाल्न नपाउने



काठमाडौं , पुस  १६ । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा पाँच जना प्रदेशसभा सदस्य र सात जना स्थानीय तहका पदाधिकारीले मतदान गर्न नपाउने भएका छन्। निर्वाचन आयोगका अनुसार उनीहरूमध्ये केही पदमुक्त भइसकेका छन् भने केही निलम्बनमा छन्, त्यसैले उनीहरूको नाम प्रारम्भिक मतदाता नामावलीमा समावेश गरिएको छैन।

निर्वाचन आयोगका सहसचिव नारायण प्रसाद भट्टराईका अनुसार, प्रदेशसभा सदस्यमध्ये अदालतको आदेशअनुसार पदमुक्त भएका एक जना र निलम्बनमा रहेका चार जना गरी जम्मा पाँच जनाको नाम मतदाता सूचीबाट हटाइएको छ। स्थानीय तहका पदाधिकारीमध्ये भने निधन भएका एक जना र निलम्बनमा रहेका सात जना गरी आठ जनाको नाम नामावलीमा समावेश छैन।

राष्ट्रिय सभा निर्वाचनमा प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुखलाई मतदाता बनाउने कानुनी व्यवस्था छ। यसअघि स्वीकृत प्रारम्भिक मतदाता नामावली अनुसार ५४५ जना प्रदेशसभा सदस्य र १४९८ जना स्थानीय तहका पदाधिकारी गरी कुल २०४३ मतदाताले मतदान गर्न पाउनेछन्।

निर्वाचन प्रक्रिया अनुसार पुस १९ गते बिहान १० बजेदेखि ११ बजेसम्म मतदाता नामावली प्रकाशन हुनेछ। पुस २० गते दिउँसो ४ बजेसम्म नामावलीमा नाम छुट भएका व्यक्तिले दरखास्त दिन सक्नेछन्। पुस २१ र २२ गते उजुरी तथा निवेदन छानबिन गरी पुस २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ।

यस पटक कोशी प्रदेशबाट ३ जना, मधेश प्रदेशबाट ४ जना, बागमती र गण्डकी प्रदेशबाट २–२ जना, लुम्बिनीबाट ३ जना, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट २–२ जना गरी राष्ट्रिय सभाका १८ पदका लागि निर्वाचन हुँदैछ। फागुन २० गते १९ जना वर्तमान राष्ट्रिय सभा सदस्यको कार्यकाल सकिँदैछ।

प्रकाशित मिति: २०८२ पुष १७, बुधवार १६:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको