एकै मञ्चमा देखिँदैछन् प्रधानमन्त्रीसहित शीर्ष नेता



काठमाडौं, पुस १४ । प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू आज एकै मञ्चमा देखिने भएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा हुन लागेको सर्वपक्षीय राष्ट्रिय संवाद कार्यक्रममा प्रधानमन्त्री कार्की, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुन लागेका हुन्।

महासंघले “शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य” शीर्षकमा उक्त संवाद कार्यक्रम आयोजना गर्न लागेको हो। कार्यक्रममा नेपाली कांग्रेसका तर्फबाट महामन्त्री गगन थापा सहभागी हुने आयोजकले जनाएको छ। पछिल्लो समय राजनीतिक ध्रुवीकरण बढिरहेका बेला शीर्ष नेताहरू एकै मञ्चमा देखिनु अर्थपूर्ण रूपमा हेरिएको छ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालका अनुसार देशको अर्थतन्त्रलाई गति दिन, लगानीमैत्री वातावरण निर्माण गर्न र राजनीतिक स्थायित्वबारे साझा धारणा बनाउन संवादको आयोजना गरिएको हो। “राजनीतिक दल, निजी क्षेत्र र नागरिक समाजबीच सहकार्य बिना आर्थिक पुनरुत्थान सम्भव छैन,” अध्यक्ष ढकालले बताए।

संवाद कार्यक्रममा निजी क्षेत्रका प्रतिनिधि, युवा पुस्ता ९जेन–जी०, नागरिक समाज, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका विज्ञहरूको सहभागिता रहनेछ। कार्यक्रममा राजनीतिक स्थायित्व, आर्थिक सुधार, लगानी अभिवृद्धि, रोजगारी सिर्जना र राष्ट्र निर्माणमा युवाको भूमिकाबारे गहन छलफल हुने अपेक्षा गरिएको छ।

महासंघले संवादमार्फत सरकार, राजनीतिक दल र निजी क्षेत्रबीच विश्वासको वातावरण निर्माण गर्दै दीर्घकालीन आर्थिक नीतिमा सहमति खोज्ने लक्ष्य लिएको जनाएको छ। देशको वर्तमान आर्थिक अवस्था, लगानीको चुनौती र सम्भावनाबारे शीर्ष नेताहरूको धारणा सार्वजनिक हुने भएकाले कार्यक्रमप्रति चासो बढेको छ।

राजनीतिक अस्थिरता र आर्थिक मन्दीको चर्चा भइरहेका बेला आयोजना हुन लागेको यो सर्वपक्षीय संवादले राष्ट्रिय सहकार्यको नयाँ सन्देश दिने विश्वास गरिएको छ।

प्रकाशित मिति: २०८२ पुष १७, बुधवार १२:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको