काठमाडौं, पुस १७ । काठमाडौंको गोकर्णेश्वरबाट नक्कली नोटसहित ६ जनालाई पक्राउ गरिएको छ।
प्रहरीका अनुसार, गोकर्णेश्वर नगरपालिका–८, अत्तरखेल चोकबाट नेपाली एक हजार दरका ७६ थान नक्कली नोट सहित ३२ वर्षीय दावा नोर्वु शेर्पा र उनका पाँच साथी पक्राउ परेका हुन्। उनीहरू शंखरापुर नगरपालिका–४, साँखु बस्दै आएका र सिन्धुपाल्चोक बाह्रबिसे गाउँपालिका–२ घर भएका हुन्।
जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनीहरूलाई बुधबार राति पक्राउ गरेको जनाएको छ।
प्रहरीले घटनासँग सम्बन्धित थप अनुसन्धान गरिरहेको छ र आवश्यक कानुनी प्रक्रिया अघि बढाइरहेको बताएको छ।




