बिक्रम यादव रास्वपामा प्रवेश, रौतहट १ बाट चुनाव लड़ने



ओम प्रकाश यादव

रौतहट, पुस १७ । लामो समयदेखि कुनै पनि राजनीतिक दलमा आबद्ध नभई स्वतन्त्र रूपमा राजनीतिमा सक्रिय रहँदै आएका रौतहटका युवा नेता बिक्रम यादव राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । आजदेखि औपचारिक रूपमा रास्वपामा आबद्ध भई उनले पार्टी सदस्यता प्राप्त गरेका छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेता यादव रौतहट क्षेत्र नं. १ बाट रास्वपाको तर्फबाट उम्मेदवारी दिने भएका छन् । संघीय सांसद पदमा उम्मेदवारी दिने निर्णय भएसँगै उनले आफ्नो राजनीतिक यात्रालाई नयाँ मोड दिएका छन् ।

नेता यादवले लामो समयदेखि रौतहटको विकास, सुशासन र जनताको अधिकारका पक्षमा आवाज उठाउँदै आएका छन् । पुराना दलका नेताहरूले वर्षौँसम्म सत्ता र राजनीतिमा रहँदा पनि जनताको अपेक्षा अनुसार काम गर्न नसकेको, विकासका नाममा आश्वासन मात्र बाँडिएको र भ्रष्टाचार तथा पहुँचका आधारमा राजनीति हावी भएको उनको आरोप छ ।

“रौतहट अझै पनि आधारभूत विकास, रोजगारी, शिक्षा र स्वास्थ्य सेवाबाट पछाडि परेको छ । पुराना दलहरूले पटक–पटक जनतालाई धोका दिएका छन्,” नेता यादवले बताए, “अब नयाँ सोच, नयाँ नेतृत्व र इमानदार राजनीतिका लागि रास्वपा नै उपयुक्त विकल्प हो ।”
उनले रास्वपाबाट उम्मेदवारी दिएर पुराना दलको एकाधिकार तोड्ने र जनमुखी राजनीति स्थापना गर्ने प्रतिबद्धता जनाएका छन् ।

युवाहरू, किसान, मजदुर तथा आम सर्वसाधारणको आवाज संसदसम्म पुर्‍याउने उद्देश्यका साथ आफू चुनावी मैदानमा उत्रिएको उनले स्पष्ट पारे ।

रौतहट क्षेत्र नं। १ मा पुराना दलहरूप्रति बढ्दो असन्तुष्टि र वैकल्पिक राजनीतिक शक्तिप्रति जनताको आकर्षण बढिरहेका बेला बिक्रम यादवको उम्मेदवारीलाई अर्थपूर्ण रूपमा हेरिएको छ । स्थानीयस्तरमा उनको सक्रियता र स्पष्ट बोलीले चुनावी प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ ।

प्रकाशित मिति: २०८२ पुष १८, बिहिवार १६:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको