काठमाडौं, पुस १७ । आगामी राष्ट्रियसभा निर्वाचनमा चुनावी सहकार्यका लागि नेपाली कांग्रेस र नेकपा एमाले दुवै दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सँग पनि संवादमा रहेका छन्।
राष्ट्रियसभा निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्दा अपेक्षित परिणाम नआउने निष्कर्षसहित कांग्रेस र एमाले दुवै दलले अन्य दलसँग सहकार्यको विकल्प खोज्न थालेका हुन्। यही सन्दर्भमा नेकपासँग पनि छलफल सुरु भएको बताइएको छ।
नेपाली कम्युनिस्ट पार्टीका नेता जगन्नाथ खतिवडाले राष्ट्रियसभा निर्वाचनलाई केन्द्रमा राखेर कांग्रेस र एमाले दुवैसँग अनौपचारिक संवाद भइरहेको जानकारी दिए।
उनले भने, “विभिन्न माध्यमबाट अनौपचारिक छलफल भइरहेको छ। अहिलेसम्म औपचारिक रूपमा कुनै कमिटी वा वार्ता टोली बनेको छैन। निर्वाचन नजिकिँदैछ, एक–दुई दिनमै कुनै निष्कर्षमा पुग्ने सम्भावना छ।”
खतिवडाका अनुसार विगतको सहकार्यको अनुभवका आधारमा एमालेभन्दा कांग्रेससँग गठबन्धन हुने सम्भावना बढी देखिएको छ। “एमालेसँग पनि संवाद भइरहेको छ तर कांग्रेससँग कुरा मिल्ने सम्भावना बढी छ,” उनले भने।
यद्यपि, माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनलाई केन्द्रमा राखेर कांग्रेस र एमालेबीच पनि सहकार्यको सम्भावनाबारे तीव्र छलफल भइरहेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा राष्ट्रियसभामात्रै नभई आगामी निर्वाचनसम्म सहकार्यलाई निरन्तरता दिनुपर्ने पक्षमा देखिएको बताइन्छ।
तर कांग्रेसभित्रका केही नेताहरू भने एमालेभन्दा नेकपासँग सहकार्य गर्दा पार्टीलाई बढी लाभ हुने तर्क गर्दै आएका छन्। कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले एमालेबाहेक अन्य दलसँग पनि छलफल भइरहेको तर कुनै निष्कर्षमा नपुगिएको बताए।
यसैबीच, एमालेका एक नेताले पनि कांग्रेससँग मात्र नभई नेकपासँग समेत संवाद भइरहेको स्वीकार गरेका छन्।
फागुन २० गतेदेखि रिक्त हुन लागेका १९ मध्ये १८ राष्ट्रियसभा सदस्य पदका लागि निर्वाचन हुँदैछ।






