जनकपुरधाम, पुस १७। अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा जनकपुरधाममा भारतीय पर्यटकहरूको उल्लेख्य आगमन देखिएको छ। नयाँ वर्षको शुभारम्भ माता जानकीको दर्शनसँगै गर्ने उद्देश्यले सीमावर्ती भारतीय जिल्लाबाट ठूलो संख्यामा पर्यटकहरू जनकपुरधाम आएका हुन्।
विशेषगरी भारतको सीतामढी, शिवहर, मधुवनी, झञ्झारपुर, दरभङ्गा र मुजफ्फरपुरलगायत क्षेत्रबाट आएका पर्यटकहरूले जनकपुरधामको धार्मिक तथा पर्यटकीय क्षेत्रलाई निकै चहलपहलयुक्त बनाएका छन्। जानकी मन्दिर, राम मन्दिर, परिक्रमा मार्ग तथा मुख्य बजार क्षेत्र पर्यटकले खचाखच भरिएको छ।
भारतीय पर्यटकहरू निजी सवारी साधन तथा बसमार्फत जनकपुरधाम आइपुगेका छन्। पर्यटकको चाप बढेसँगै जनकपुरधामका मुख्य चोकहरूमा सवारी आवागमन प्रभावित भएको छ भने होटल, लज र रेस्टुरेन्टहरू पनि भरिभराउ भएका छन्। होटल व्यवसायीहरूका अनुसार नयाँ वर्षको अवसरमा अधिकांश होटलहरू अग्रिम बुकिङ भइसकेका छन्।
होटेल तथा पर्यटन व्यवसायीहरूले भारतीय पर्यटकको आगमनले स्थानीय अर्थतन्त्र चलायमान बनेको बताएका छन्। “नयाँ वर्षमा यस वर्ष अघिल्ला वर्षको तुलनामा बढी पर्यटक आएका छन्, जसले व्यापार व्यवसायमा सकारात्मक प्रभाव पारेको छ,” एक होटल सञ्चालकले बताए।
धार्मिक पर्यटनसँगै जनकपुरधामको सांस्कृतिक पहिचान र आतिथ्यताले भारतीय पर्यटकलाई आकर्षित गरिरहेको स्थानीयको भनाइ छ। पर्यटकहरूको सुरक्षालाई ध्यानमा राख्दै सुरक्षा निकायले मन्दिर क्षेत्र तथा मुख्य स्थानहरूमा सुरक्षा व्यवस्था कडा बनाएको छ।
नयाँ वर्षको अवसरमा बढेको पर्यटक आगमनले जनकपुरधामको धार्मिक पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।




